सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा मेयर कप फुुटवल प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता शुक्रबारबाट नगरपालिकाको वडा नं.४ मा रहेको बुड्ढी खेल मैदानमा सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख केशवकुमार श्रेष्ठले खेलकै माध्यमबाट नगरलाई प्रदेश हुदैं राष्ट्रमा चिनाउने गरि खेलाडीहरुलाई लाग्न आग्रह गरे । उनले त्यसका लागि आवश्यक वातावरण निर्माण गर्न नगर प्रतिवद्ध रहेको बताए । खेल क्षेत्रलाई नगरले प्राथमिकता दिएको भन्दै उनले भने, ‘स्थानीयस्तरबाट उत्पादन भएका खेलाडीको वृद्धि विकास लागि चाहिने पूर्वाधार तथा वातावरण तयार गर्न नगर प्रतिवद्ध छ ।’
नगरपालिकामा विगतमा भन्दा अहिले खेलप्रति चासो देखाउने खेलाडीहरुमा उल्लेख्य वृद्धि भएको भन्दै उनले खुशी व्यक्त गरे । उनले फुटवल खेलमा युवाहरुको उत्साहपूर्ण सहभागिता रहदैं आएको बताए ।
उनले हाल प्रतियोगितामा ६ वटा वडाको मात्र सहभागिता रहेको भन्दै आगामी दिनमा १० वटै वडाको सहभागिता रहने विश्वास व्यक्त गरे । नगरले त्यसका लागि ति वडाहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने उनले बताए । उनले खेलाडीहरुलाई प्रतियोगिता अवधिभर अनुशासित तथा मार्यादित तवरले खेल्न आग्रह समेत गरे ।

शुक्रबार २ वटा खेलहरु सम्पन्न भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख कृष्ण प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार वडा नं.३ र ४ बीच भएको पहिलो खेलमा वडा नं.४ विजयी भएको छ । उक्त खेलमा वडा नं.४ २–० गोल अन्तरले विजयी भएको हो । वडा नं.४ का लागि कनैया थारु र दिनेश थारुले एक-एक गोल गरे । अब वडा नं.४ फाईनल प्रवेशका लागि शनिबार वडा नं.५ संग भिड्ने छ ।
यस्तै वडा नंं १ र २ बीच भएको दोस्रो खेलमा वडा नं.१ ५–० गोल अन्तरले विजयी भएको छ । वडा नं.१ को जितमा रोहित सुनार र विशाल घर्तीमरले दुई÷दुई गोल गरे भने कुशल कार्कीले एक गोल गरे । अब वडा नं.१ फाईनल प्रवेशका लागि शनिबार वडा नंं ९ संग भिड्ने छ ।
शाखा प्रमुख भट्टराईले नगरपालिकामा खेलकुद विकास समिति गठन भएपश्चात खेलकुदका विभिन्न गतिविधिहरु संचालन गर्न सहज हुदैं आएको बताए ।
उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रममा उपप्रमुख मिरा थारु, प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थी, वडाअध्यक्षहरु तेज बहादुर बस्नेत, गोविन्द प्रसाद आचार्य, सुसिल चौधरी लगायतका जनप्रतिनिधिहरु, खेलकुद विकास समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।








