टीकापुर ।
कैलालीको लम्कीचुहा नगरपालिकाका विभिन्न विद्यालयहरूमा गएर विद्यार्थीलाई इसाई धर्मको बारेमा प्रवचन दिने पास्टर पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराई विभिन्न विद्यालयमा गएर विद्यार्थीहरूलाई इसाई धर्मको प्रचार गरेको आरोपमा पक्राउ परेका हुन्।
पास्टर भट्टराईले नगरपालिकाको वडा नं. ५ स्थित जनप्रभात माध्यमिक विद्यालय, वडा नं. १ को सहिद स्मृति माध्यमिक विद्यालय र जानकी आधारभूत विद्यालयमा क्रिसमसको उपहार स्वरुप झोला, चकलेट बाँडेर विद्यार्थीलाई धर्मको बारेमा प्रवचन दिएका थिए।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमै विद्यालयमा पुगेर झोला, चकलेट वितरण गरेका फोटोहरूसमेत सार्वजनिक गरेका हुन्।सहिद स्मृति माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई विद्यालय परिसरमा लाइन लगाएर इसाई धर्मसम्बन्धी प्रवचन दिइरहेका भट्टराईको भिडियो सामाजिक सञ्जालहरूमा भाइरल बनेको थियो।








