वैखरी अनलाईन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा भएको शल्यक्रियासहितको २ दिने निःशुल्क आँखा शिविरबाट ९ सय २४ जना लाभान्वित भएका छन् । बुधबार र विहिबार भएको उक्त शिविरमा ९२४ जनाको आँखा चेकजाँच गरि आवश्यकता अनुसार औषधी वितरण गरिएको छन्द ’कालेबाबु’ नारायणी आँखा अस्पताल बहादुरगंजका बाह्य कार्यक्रम संयोजक हरि भण्डारीले जानकारी दिए ।
दुई दिनको अवधिमा मोतियाविन्दुको समस्या भएका २ सय जनाकोे निःशुल्क अप्रेसन गरिएको उनले जानकारी दिए । शिविरको पहिलो दिन १३० र दोस्रो दिन ७० जनाको अप्रेसन गरिएको उनले बताए । अप्रेसन पश्चात उनीहरुलाई औषधी र चस्मा समेत वितरण गरिएको उनले जानकारी दिए ।
नगरप्रमुख केशव कुमार श्रेष्ठले नगरपाािलकभित्र कोही पनि आँखाको समस्याले दृष्टिविहिन हुन नपरोस् भन्ने उद्देश्यका साथ शिविर आयोजना गरिएको र त्यसले सार्थकता पाएको बताए । उनले आर्थिक स्थिति कमजोर भई तथा वृद्ध अवस्थाका कारण अस्पतालमै जान नसक्ने नगरवासीले शिविरको फाइदा लिएको बताए । आँखा शिविरलाई विगतदेखि नै नगरपालिकाले प्राथमिकता दिदैं नगरका विभिन्न स्थानमा निरन्तर रुपमा संचालन गर्दै आएको उनले बताए ।
मुख्यतः आँखाको समस्या भएका व्यक्तिहरुको समस्यालाई मध्येनजर गर्दै शिविर सञ्चालन गरेको भन्दै नगरप्रमुख श्रेष्ठले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । स्वास्थ्य क्षेत्रलाई नगरले प्राथमिकता दिदैं आएको बताउँदै उनले भने, स्वास्थ्य नै मानिसको धन हो । त्यसैले नगरपालिका नगरवासीको स्वास्थ्य अवस्थालाई सुधार गर्दै निरोगी बनाउने अभियानमा लागेको छ ।’
सेवाग्राहीले मोतियाविन्दुको निःशुल्क अप्रेसन गरेर आँखाको दृष्टि फर्कदाँ नयाँ संसार देख्न पाएको भन्दै खुसी व्यक्त गरेका थिए । आँखा देख्न नसक्दा हरेक क्षण समस्या झेल्नुपर्ने बाध्यतात्मक अवस्थाको अब अन्त्य भएकाले बुढ्यौलीमा आँखा देख्न पाउँदा संसार नै उज्यालो भएको उनीहरुको भनाई छ ।
बुद्धभूमि नगरपालिकाको आयोजना र नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजद्वारा संचालित छन्द ’कालेबाबु’ नारायणी आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा उक्त २ दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।








