भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षीय सिंहको भारतीय समयअनुसार बिहीवार राति ९ बजेर ५१ मिनेटमा एम्स अस्पतालमा निधन भएको हो ।
एम्स अस्पतालले विज्ञप्ति जारी गरेर पूर्व प्रधानमन्त्री सिंहको निधन भएको जानकारी दिएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई बिहीवार मात्रै अस्पताल भर्ना गरिएको बताइएको छ ।
सिंहको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । भारतका सबैभन्दा प्रतिष्ठित नेतामध्ये एक डा. मनमोहन सिंहलाई भारतले गुमाएको मोदीले लेखेका छन् । साधारण परिवारबाट माथि उठेर प्रतिष्ठित अर्थशास्त्री बनेका सिंह वित्तमन्त्रीसहित भारतका विभिन्न पदमा बसेर आर्थिक नीतिमा बलियो छाप छोडेको मोदीले लेखेका छन् । भारतको प्रधानमन्त्रीको रूपमा सिंहले भारतीय जनताको जीवन सुधारमा व्यापक प्रयास गरेको भन्दै मोदीले पूर्व प्रधानमन्त्री सिंहलाई स्मरण गरेका छन् ।
सिंह सन् २००४ मा पहिलो पटक र सन् २००९ मा दोस्रोपटक भारतको प्रधानमन्त्री बनेका थिए ।








