सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तु जिल्लामै पहिलो पटक सिटिस्क्यान सेवा सुरु भएको छ । शनिबार बाणगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र चारनम्बरमा कपिलवस्तु सिटि एण्ड डाइनोस्टिक सेन्टर प्रा.लि. औपचारिक रुपमा संचालनमा आएसंगै सिटिस्क्यान सेवा सुरु भएको हो ।

उक्त सेवा लुम्बिनी प्रादेशिक अस्पतालका १० जना रेडियोलोजिष्ट मिलेर संचालन भएको डा.प्रशान्त आचार्यले जानकारी दिए ।

५ बर्षदेखि २७ बर्षसम्म कार्य अनुभव भएका रेडियोलोजिष्टद्धारा सेवा प्रदान गरिने उनले बताए । उनले १० जना रेडियोलोजिष्टबाट सेवा दिने भएकाले सेवाग्राहीलाई छिटो छरितो रुपमा सेवा प्रवाह गरिने बताए । २४ सै घण्टा उपलब्ध हुने गरी सिटिस्क्यान सेवा सुचारू गरिएको उनको भनाई छ । करिब ३ करोडको लगानीमा सिटिस्क्यान सेवा सुरु गरेको उनले जानकारी दिए ।
१६ स्लाइसको सिटिस्क्यान मेसिन सञ्चालनमा ल्याएसंगै सिटिस्क्यानका लागि बाहिरी जिल्लामा जानुपर्ने वाध्यताको अन्त्य गर्ने उनको विश्वास छ ।

कपिलवस्तुमा सडक दुर्घटना हुँदा सिटिस्क्यान सेवाकै लागि रुपन्देही लैजानुपर्ने र सो क्रममा घाईतेको ज्यान समेत जाने गरेको उनले बताए । सो अवस्थाको अब अन्त्य हुने उनको दाबी छ । ‘यहाँ टाउकोदेखि खुट्टासम्म सिटिस्क्यान हुन्छ,’ उनले भने, ‘पेट, प्रेसर, क्यान्सरका विरामी तथा चोटपटक लागेका व्यक्तिहरुले सेवा लिन सक्नुहुने छ ।’
कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री, निवर्तमान अध्यक्ष डोलकराम घिमिरे , समाजसेवि दामोदर न्यौपाने, सुर्य बराल , झलक मल्ल लगायतले सिटिस्क्यान सेवाको शुभारम्भले समग्र कपिलवस्तुको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थप्ने काम गरेको बताए । यो सेवा संचालनमा आएसंगै जिल्लावासीले राहातको महसुस गर्ने उनीहरुको भनाई छ ।







