गृहपृष्ठ Featured अर्घाखाँचीमा सुन्तला खेतीले घरैपिच्छेका परिवारले पाए रोजगारी

अर्घाखाँचीमा सुन्तला खेतीले घरैपिच्छेका परिवारले पाए रोजगारी

अर्घाखाँची ।

गाउँमै सुन्तला उत्पादनबाट घरैपिच्छेका परिवारले रोजगारी पाएका छन् । राम्रो आम्दानी भएपछि पढेलेखेका युवा सुन्तला खेतीमा सक्रिय छन् । सुन्तलाले गाउँको आर्थिक अवस्था पनि फेरिएको छ ।

छोराबुहारी र नातिनातिनासँगै पाणिनि गाउँपालिका–१ सिम्लेका ८२ वर्षीय होमनाथ पौडेल सुन्तला बिक्री गर्न व्यस्त छन् । जवानी उमेरमा भारतीय पल्टनमा रहँदा ‘खान नपाएर आएका नेपाली’ भन्ने दुर्वचन सुन्दा ७ वर्षसम्म गरिखाएको जागिर चटक्कै छाडेर २०२६ सालमा जन्मघर सिम्ले फर्किएको उनले सुनाए । घरमा एक/दुईवटा सुन्तलाका बोट थिए । फलेका दाना बिक्री गर्दैनथे । आएका पाहुनालाई पाहुर दिने चलन थियो । आफैं विरुवा उत्पादन गरे । केही गुल्मीबाट विरुवा ल्याएर बारीभरि लगाए ।

छिमेकीलाई अन्न, घ्यू, डोको, नाम्लो, दाउरा र खेताला (श्रम) सित साटेर सुन्तलाका विरुवा दिए । त्यतिबेला उनको एउटै ध्येय थियो, सुन्तलाबाटै भारतीय सेनाका जवानको तलबभन्दा बढी आम्दानी गर्ने । लगाएको चार वर्षमै सुन्तलाका बोटले फल दिन थाले । ४ सय दानालाई एक रुपैयाँमा पाल्पा तानसेन लगेर बिक्री गरे । उनी हौसिए ।

‘भारतीय पल्टनमा खान नपाएर आएका नेपाली भन्दा साह्रै नरमाइलो लाग्यो,’ उनले भने, ‘जागिर छाडेर सुन्तला खेती गर्न फर्किएको थिएँ । अहिले सफल भएँ, भारतीय पल्टनको पेन्सनजस्तै सुन्तलाबाट बर्सेनि पैसा भित्रिरहेको छ ।’ बेचेर पैसा आउन थालेपछि गाउँले सबै सुन्तला खेतीमा लागेको उनले बताए । ‘अहिले बारीमा अन्नखेती खासै छैन,’ उनले भने, ‘मैले एक्लै सुरु गरेको काममा मेरा चार छोरा र गाउँलेले साथ दिए, म यसैमा खुसी छु ।’

अहिले सुन्तलाबाट लाखौं आम्दानी दिइरहेको सिम्ले गाउँमा कुनै बेला वर्षदिन दुःख गर्दा ६ महिनालाई खान नपुग्दा भारत र स्वदेशका अन्य सहरमा नोकरी गर्न धाउँथे । जिल्लाको अन्य ठाउँबाट घरजग्गा यत्तिकै छाडेर बसाइँसराइ गरिरहेका बेला सिम्लेमा सुन्तला खेतीले नै बसाइँसराइ रोकेको छ ।

सम्बन्धित् समाचार