गृहपृष्ठ Featured बुटवल–गोरुसिंगे सडकको काम ३ वर्षभित्रै सक्ने दाबी !

बुटवल–गोरुसिंगे सडकको काम ३ वर्षभित्रै सक्ने दाबी !

बुटवल ।

बुटवल–गोरुसिंगे सडक ४ लेन विस्तारका क्रममा ७ हजार १ सय ७५ रुख काटिने भएको छ । वन मन्त्रालयको समन्वयमा निर्माण व्यवसायीले रुख काट्ने अनुमति पाएको हो । अहिले सडक क्षेत्रमा परेका रुखको मार्किङ गर्ने काम अन्तिम चरण पुगेको छ । रुख कटानपछि सडकको निर्माण अघि बढ्ने आयोजनाले जनाएको छ ।

वि.सं. २०१९ मा निर्माण भएको पूर्व–पश्चिम राजमार्गको बुटवलदेखि चन्द्रौटासम्मको सडक खण्ड विस्तार हुन लागेको हो । सुरुमा एक लेनमा निर्माण गरिएको सडक २०३५/३६ मा दुई लेनमा विस्तार भएको थियो । बुटवलदेखि चन्द्रौटासम्म एसियाली विकास बैंकको ऋण सहयोगमा २७ करोड ५० लाख अमेरिकी डलर (झण्डै ३५ अर्ब) लागतमा ६९ किलोमिटर सडक अब ४ लेनमा विस्तार हुनेछ ।

पहिलो चरणमा बुटवलदेखि गोरुसिंगेसम्मको झण्डै ५० किलोमिटर सडक निर्माण सुरु भएको हो । १९ किलोमिटर दूरीको गोरुसिंगे–चन्द्रौटा खण्ड दोस्रो चरणमा निर्माण गरिनेछ । दोस्रो चरणको ठेक्का र बुटवलको तिनाउमा सिग्नेचर पुलका लागि पनि विश्व बैंकसँग सम्झौता भइसकेको छ । अहिले बुटवलदेखि गोरुसिंगे खण्डमा रुखको मार्किङ, विद्युत् पोलको व्यवस्थापन, माटो, ढुंगा, गिट्टी र बालुवाको परीक्षणका लागि ल्याब निर्माण, ठूला मेसिन र सामग्री व्यवस्थापन र सडकको नापजाँच गर्ने काम भइरहेको छ ।

पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुनेछन् । १ सय ४९ कल्भर्ट र ६ वटा अन्डर/ओभर पास निर्माण हुनेछन् । यो सडक सहरी क्षेत्रमा ५०, सहरोन्मुख क्षेत्रमा ३७ र जंगल क्षेत्रमा २४ मिटर चौडाइको बन्नेछ ।

सम्बन्धित् समाचार