गृहपृष्ठ Featured विकास आरोप-प्रत्यारोपले हुदैन्, एकता र सहकार्यले हुन्छ : वडाध्यक्ष न्यौपाने

विकास आरोप-प्रत्यारोपले हुदैन्, एकता र सहकार्यले हुन्छ : वडाध्यक्ष न्यौपाने

वैखरी अनलाईन, बाणगंगा ।

अर्घाखाँचीको शितगंगा नगरपालिका- १४ मा रहेको श्री पावर सामुदायिक वन उपभोक्ता समूहको १७औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रम वनकै कार्यालयमा शुक्रबार सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै शितगंगा नगरपालिका वडा नं.१४ का वडाध्यक्ष दामोदर न्यौपानेले यस वनले वनको संरक्षण, सम्बद्र्धनसंगै सामाजिक विकासमा समेत योगदान गरेको भन्दै प्रशंसा गरेका थिए । उनले वन अमूल्य सम्पत्ति भएको बताउँदै यसको संरक्षणमा सबै एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिए । वडाले विगतदेखि नै वनसंग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने उहाँले प्रतिवद्धता व्यक्त गरे ।

उनले यस क्षेत्रकै पुरानो सामुदायिक वनका रुपमा रहेको यस वन सामाजिक क्षेत्रमा उदाहरणीय काम गर्ने दिशातर्फ अघि बढेको भन्दै खुशी व्यक्त गरे । वनको संरक्षणमा सबै जुटनुपर्ने र यसबाट हुने आम्दानीको पनि सबैले ऐन नियमको दायरामा रहेर उपयोग गर्नुपर्ने बताए ।

फरक प्रसङ्गमा बोल्दै वडाध्यक्ष न्यौपानेले वडाको विकास आरोपप्रत्यारोपले नभई एकता, समझदारी एवम् सहकार्यले हुने बताए ।

सकारात्मक सल्लाह, सुझाव दिनुको सट्टा वडा कार्यालय पावरप्रति सकारात्मक नभएको भनि प्रचार गरिएको भन्दै उनले असन्तष्टि जनाए । चुनावमा कुनै दलबाट निर्वाचनमा होमिए पनि चुनावपछि सबै एकताबद्ध भएर वडाको विकास र समृद्धिमा लाग्नुपर्ने उनको भनाई छ ।

सवडिभिजन कार्यालय डोहोटे वन अधिकृत अर्जुन प्रसाद चापागाईले वनका ऐन नियमहरुको दायराभित्र रहेर काम गर्दै वनको आर्थिक पक्षलाई पारदर्शी बनाउनुपर्ने बताए । उनले वन अतिक्रमण हटाएर वृक्षरोपण गर्दै वन संरक्षणमा लाग्नुपर्ने बताए । त्यसका लागि आवश्यक सहयोग गर्ने उनले प्रतिवद्धता समेत जनाए ।

वनकी अध्यक्ष चुमा गाहाले वनसंग सम्बन्धित सम्पूर्ण निकायसंग आवश्यक सहकार्य गरेर वनले काम गरेको बताउँदै वनले वन संरक्षण, सम्बद्र्धनलाई प्राथमिकतामा राखेको बताईन् । समाज रुपान्तरणमा वनले अहम भूमिका खेल्न सक्ने विषय सबै उपभोक्ताहरुले नबुझ्दा समस्या उत्पन्न भएको उनले बताईन् । वन सबैको साँझा सम्पत्ति भएकाले यसको रेखदेखमा सबैले चासो देखाउनुपर्ने उनको भनाई छ ।

सोही कार्यक्रममा सुत्केरीलाई अन्डा र झुल तथा शारीरिक रुपमा अशक्तलाई न्यानो कपडा समेत वितरण गरिएको थियो ।

कृष्णप्रसाद बेल्वासेको संचालनमा सम्पन्न उक्त कार्यक्रममा कोषाध्यक्ष रमा शारुले बार्षिक लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।
यसैबिच उक्त साधारण सभाको भेलाले बिर बहादुर खम्चाकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सम्बन्धित् समाचार