गृहपृष्ठ Featured जाडो कटाउन प्रतिभा सामुदायिक वनद्धारा न्यानो कपडा वितरण

जाडो कटाउन प्रतिभा सामुदायिक वनद्धारा न्यानो कपडा वितरण

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिका- २ मा रहेको प्रतिभा सामुदायिक वन उपभोक्ता समूहले न्यानो कपडा वितरण गरेको छ ।

शनिबार वनको भवनमा आयोजित एक कार्यक्रममा विपन्न, जेष्ठ नागरिक, एकल महिला तथा शारीरिक रुपमा अशक्तहरुलाई वनले सम्मान स्वरुप न्यानो कपडा वितरण गरेको वनका अध्यक्ष जंगबहादुर यादवले जानकारी दिए ।

१०५ जनालाई एक/एक थान ब्लाङ्केट, टोपी र मोजा वितरण गरिएको उनले जानकारी दिए । प्रतिभा सामुदायिक वनले सामाजिक उत्तरदायित्वका क्रियाकलापलाई प्रभावकारी रुपमा गर्दै आएको उनको भनाई छ ।

वनले विगतमा पनि यस्ता सामाजिक काम गर्दै आएको बताउँदै उनले आगामी दिनमा पनि यस्ता कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । अध्यक्ष यादवले वनको यो प्रयासले समाजमा समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे ।

न्यानो कपडा हस्तान्तरण गर्दै बाणगंगा नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं.२ का अध्यक्ष विष्णु प्रसाद पौडेलले बढ्दो जाडोबाट जोगिन न्यानो कपडाले थप सहयोग गर्ने बताए ।

उनले क्रमिक रुपमा जाडो बढ्दै गएकाले नगरपालिकाले वनसंग आवश्यक समन्वय गर्दै केही दिनमा चोकचोकमा दाउराको व्यवस्थापन गर्ने बताए । जाडोमा जेष्ठ नागरिकको स्वास्थ्यमा थप समस्या देखिन सक्ने भन्दै उनले भने, ‘यो प्रतिकल मौसममा शरीरलाई न्यानो राख्न तातो झोलिलो खानेकुरा खादैं गर्नुहोला ।’

वडाध्यक्ष पौडेलले वन अहिले सबैको साहरा वन्दै गएको बताए । उनले वनको संरक्षण, सम्बद्र्धनमा सबैले थप चासो देखाउनुपर्ने र यसको आम्दानी वन व्यवस्थापन र समाजको हितमा खर्चिनुपर्ने बताए ।

वनको सल्लाहकार समितिका संयोजक सुसिल नेपालले दिनप्रतिदिन जाडो बढ्दै गएकाले जेष्ठ नागरिकले विशेष ख्याल गर्नुपर्ने बताए । उनले प्रतिकुल मौसममा आवश्यक सतर्कता नअपनाउदाँ स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै परिवारका अन्य सदस्यहरुलाई वृद्धवृद्धाहरुको हेरविचारमा चासो देखाउन आग्रह गरे ।

उनले प्रतिभा सामुदायिक वनले समाज रुपान्तरणमा योगदान दिदैं आएको बताए ।

वडा नं.२ का सदस्य प्रेम रौतार, लेखा समितिका संयोजक राजिव शर्मा, अनुगमन समितिका संयोजक एकनारायण भट्टराई लगायतले वनको यो कार्य उदाहरणीय भएको भन्दै यसको सिको अन्य वनले पनि गर्न आवश्यक रहेको बताएका थिए ।

न्यानो कपडा पाएपछि सबैले वनले आफुहरुको आवश्यकतालाई पहिचान गरेर काम गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।

गोविन्द पौडेलको संचालनमा सम्पन्न उक्त कार्यक्रममा नारायणी थारुले स्वागत मन्तव्य राखेकी थिईन् ।

सम्बन्धित् समाचार