लुम्बिनी ।
सन् २०२४ मा भारतसहित ११२ देशका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । लुम्बिनी विकास कोषका अनुसार गत वर्ष तेस्रो मुलुकका १ लाख ११ हजार ४ सय ३ जना लुम्बिनी आएका हुन् । भारतबाट भने ३ लाख ८ सय ८९ पर्यटकले भ्रमण गरेका छन् ।
तेस्रो मुलुकका पर्यटक अघिल्लो वर्षको तुलनामा गत वर्ष ४८ प्रतिशतले बढेका हुन् । २०२३ मा भारतबाहेक ८५ मुलुकका ७६ हजार २ सय १० जना लुम्बिनी आएका थिए । २०२२ मा ९६ देशका २३ हजार ९९२ जना र २०२१ मा ६८ मुलुकका १ हजार १९७ जना लुम्बिनी भ्रमणमा आएका थिए ।
कोरोना महामारीअघि २०१९ को अवस्थामा भने अझै पुग्न नसकेको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले बताए । उक्त वर्ष भारतबाहेक ११५ देशका १ लाख ७४ हजार १५ पर्यटक आएका थिए ।
गत वर्ष नजिकको चीनदेखि सबैभन्दा टाढाको दक्षिण अमेरिकी मुलुक चिलीसम्मका पर्यटक लुम्बिनी आएका छन् । गत वर्ष चीनबाट १३ हजार १२ जना र चिलीबाट १९ पर्यटक आएका हुन् ।