गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगाको दर्शन चोकमा पृथ्वीनारायण शाहको शालिक अनावरण

बाणगंगाको दर्शन चोकमा पृथ्वीनारायण शाहको शालिक अनावरण

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

चारनम्बर–तौलिहवा सडकखण्ड अन्तर्गत बाणगंगा नगरपालिका- ४ दर्शक चोकमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरिएको छ । शनिबार ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर उक्त शालिक अनावरण गरिएको हो ।

९६ बर्षीय जेष्ठ नागरिक मेघ बहादुर अधिकारी, बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्याल, शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले संयुक्त रुपमा उक्त शालिकको अनवारण गरेका हुन् ।

सिद्धिपुर टोल सुधार समितिको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल दर्शन समाज कपिलवस्तुले उक्त शालिकको प्रयोजन गरेको थियो ।

पछिल्लो समयमा राज्यका नेतृत्वमा पुगेकाहरूले इतिहास मेट्दै जाँदा नयाँ पुस्ता इतिहास जान्नबाट विमुख हुने गरेकाले नयाँ पुस्ताले इतिहासबारे जानकारी लिन सकुन् भन्ने उद्देश्यसहित शालिक निर्माण गरिएको नेपाल दर्शन समाज कपिलवस्तुकी अध्यक्ष सुष्मा खाँणले बताईन् ।

उनले उक्त शालिक ५ फिट अग्लो रहेको जानकारी दिदैं पृथ्वीनारायण शाहको ईतिहासलाई जीवन्त राख्न यस शालिकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् । यस शालकको निर्माणले समाजमा सकारात्मक सन्देश प्रवाह हुने उनले बताईन् ।

नगरप्रमुख चक्रपाणी अर्यालले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहका दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माणका लागि मार्गदर्शक भएको बताए ।

उनले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पु¥याएको योगदानलाई हामीले बिर्सन नहुने स्पष्ट पारे ।

शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले एको पृथ्वीनारायण शाहले ईतिहासमा विभिन्न राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको स्मरण गरे ।

उनले विभिन्न कालखण्डमा हाम्रा वीर पुर्खाहरूले निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएको बताए । अझै पनि सबैले पृथ्वीनारायण शाहको दिव्योपदेशको पालना गर्नुपर्ने उनको भनाई छ ।

बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, वडाध्यक्ष छविरेस्मी मगर, नेपाली कांग्रेस बाणगंगाका सभापति विष्णु थापा लगायतका कार्यक्रमका वक्ताहरुले नेपाल एकीकरणका अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका थिए ।

 

कार्यक्रममा सहभागीहरुले पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

सम्बन्धित् समाचार