सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका- ४ बुडढी तालमा वृहत रक्तदान शिविर सम्पन्न भएको छ । आईतबार ७औं बुद्धभूमि नगरस्तरिय माघि ‘खिचडी’ महोत्सवको अवसरमा वृहत रक्तदान शिविर सम्पन्न गरिएको हो ।
थारु कल्याणकारिणी सभा बुद्धभूमि नगर कार्यसमितिको आयोजना र बुद्धभूमि नगरपालिकाको सहयोगमा भएको उक्त वृहत रक्तदान शिविरमा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र बुटवलले प्राविधिक सहयोग गरेको थियो । थारु कल्याणकारिणी सभा बुद्धभूमि नगर कार्यसमितिका अध्यक्ष सन्तराम थारुले ५७ पोईन्ट रगत संकलन भएको जानकारी दिए ।
‘रक्तदान नै जीवन दान’ भन्ने मुल नाराका साथ रगत अभावलाई ध्यानमा राखेर रक्तदान कार्यक्रम गरिएको उनले बताए ।
बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले उपचाररत बिरामीहरुलाई आवश्यक पर्ने रगतको अभावमा ज्यान जानबाट बचाउन नगरपालिकाको सहयोगमा रक्तदान शिविरको आयोजना गरिएको बताए । उनले बुद्धभूमिवासीले निशुल्क रुपमा रगत पाउने व्यवस्था नगरले विभिन्न निकायसंग सम्झौता गरेर मिलाएको बताए । बुद्धभूमिवासी रगतको अभावले छट्पटाउनु अवस्था नरहेको र त्यस्तो अवस्था नगरले आउन नदिने उनले बताए ।
उनले एक बर्षमा बुद्धभूमि नगरपालिका क्षेत्रभित्र ५/६ पटक रक्तदान शिविर हुने गरेको बताए ।
यस्ता रक्तदान शिविर गर्नका लागि नगरले हरेक बर्ष आवश्यक सहयोग गर्दै आएको बताउँदै नगरप्रमुख श्रेष्ठले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । मानवीय तथा सामाजिक उत्तरदायित्व बहन गर्नका लागि रक्तदान गर्नुपर्ने उनले बताए । रक्तदान शिविर सञ्चालन गर्नाले स्वास्थ्यप्रति संवेदनशीलता एवम् नियमित स्वास्थ्य परीक्षणको आवश्यकताबारे बोध हुने नगरप्रमुख श्रेष्ठले बताए ।
बुद्धभूमि नगरपालिका वडा नं.४ का वडाध्यक्ष सुसिल कुमार चौधरीले रक्तदान गरिसकेपछि रगतको परिक्षण गर्दा केही समस्या रहे पत्ता लाग्ने बताए ।
यसले समयमै व्यक्तिलाई स्वास्थ्य उपाचार गर्न सहयोग गर्ने भएकाले स्वास्थ्यका दृष्टिकोणले पनि रक्तदान फाईदाजनक रहेको उनको भनाई छ ।