गृहपृष्ठ Featured लस एन्जसलमा आगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या १६ जना पुग्यो

लस एन्जसलमा आगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या १६ जना पुग्यो

अमेरिकाको लस एन्जलसमा लागेको आगोमा परी ज्यान गुमाउनेको सङ्ख्या १६ जना पुगेको छ ।

सबैभन्दा ठूला आगलागी भएको इटनमा ११ र प्यालीसेड्समा ५ गरी १६ जनाको ज्यान गएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अग्नि नियन्त्रकहरूले ज्यान गुमाउनेहरूको सङ्ख्या अझै बढ्नसक्ने बताएका छन्, १३ जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।

लस एन्जलस वरपर अहिले चार वटा जङ्गलमा आगो लागिरहेको छ । अग्नि नियन्त्रकहरूले २३ हजार एकड क्षेत्रफलमा फैलिएको प्यालीसेड्को डढेलो ११ प्रतिशतमात्रै निभाउन सकेका छन् । यस्तै इटनको १४ हजार एकड क्षेत्रफलमा आगलागी भएकोमा १५ प्रतिशत निभेको छ । अग्नि नियन्त्रकहरूले केनेथ र हस्र्टको दुई साना डढेलो भने नियन्त्रणमा लिएका छन् ।

आपत्कालीन उद्धारकर्ताहरूले शक्तिशाली हुरीमाझ लस एन्जलसको डढेलो निभाउने प्रयास पाँचौं दिन पनि जारी राखेका छन् । अग्नि नियन्त्रहरूले डढेलोलाई रोक्न विमानबाट पानी र आगो निभाउने ‘फायर रिटार्डेन्ट’ खसालिरहेका छन् । राति हावाको वेग अझै बढ्ने र त्यसले डढेलो फैलिन अझ मद्दत पुग्ने अधिकारीहरूले बताएका छन् ।

लस एन्जलसमा इतिहासकै खराब आगलागी भइरहेको छ । आगलागीमा हजारौं संरचना जलेर नष्ट भइसकेका छन् । लाखौं मानिस घर छाडेर भागेका छन् । आगलागीका कारण विषाक्त धूँवा र हावा फैलिएपछि लस एन्जलस काउन्टीमा स्वास्थ्य आपत्काल घोषणा भएको छ ।

सम्बन्धित् समाचार