आगामी माघ ११ गते सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु (अन्तिम छेड्ने काम) हुने भएको छ। सुरुङमार्गको ब्रेक थ्रुका लागि अहिले अन्तिम तयारी गरिएको सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ। यसअघि माघ १ गते गर्ने भनिएको ‘ब्रेक थ्रु’ लाई माघ ८ गते सारिएको थियो।
आठ गतेलाई पनि सारेर माघ ११ गते ब्रेक थ्रु गर्ने तयारी गरिएको आयोजना प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए।
ब्रेक थ्रु का लागि प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल लगायत आउने छन्।
‘ब्रेक थ्रु लाई उत्सवको रुपमा लिइएको र त्यसको लागि प्रधानमन्त्री समेत आउने भएकोले केहि दिन पछाडि लगिएको हो,’ अधिकारीले भने।
ब्रेक थ्रु का लागि साढे १ मिटर भाग सुरक्षित रुपमा राखिएको छ। बाँकी रहेको सोहि भाग क्षेत्रलाई ब्लास्टिङ गरेपछि सिद्धबाबा मन्दिर र विद्युत हेटबक्स तर्फबाट खन्दै आएको सुरुङको मुख एकआपसमा जोडिने छ।
आयोजनाका अनुसार दुबैतर्फको रिबसहित सुरुङमार्गको कुल लम्बाइ एकहजार १२६ मिटरको हुने भएपनि खन्नुपर्ने टनेलको भाग भने एकहजार ८९ मिटर मात्रै रहने छ।
त्यसमध्ये साढे १ मिटर मात्रै भाग ब्रेक थ्रु का लागि बाँकी राखेर एकहजार ८७.५ मिटर सुरुङ खनेर सकिएको आयोजनाका सूचना अधिकारी सविता ज्ञवालीले जानकारी दिइन्। ज्ञवालीका अनुसार सिद्धबाबा मन्दिरतर्फबाट ६०८ र विद्युतको हेडबक्सतर्फबाट ४७९.५ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ।