काठमाडौँ — पछिल्लो समय भैतिक पूर्वाधार निर्माणका लागि अत्यावश्यक सिमेन्टको मूल्य बढेको बढ्यै छ । खास कारण नभए पनि ६ महिनामा मूल्य दोब्बर पुगेको तथ्यांकले देखाउँछ । साउनमा सिमेन्टको मूल्य प्रतिबोरा ४ सय रुपैयाँ थियो । त्यसको ६ महिनापछि भाउ दोब्बर पुगेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले जनाए । यति बेला एक बोरा सिमेन्टको मूल्य ८ सय १५ रुपैयाँसम्म छ ।
‘सिमेन्टको मूल्यमा मनपरी भएको छ, उद्योगीले मूल्य निर्धारण गर्छन् । उनीहरूले चुनढुंगा, लोडसेडिङ, ढुवानी खर्चलगायतलाई मूल्यवृद्धिको कारण देखाउने गरेका छन् । हिउँद सकिँदा–नसकिँदै बोराकै १ हजार रुपैयाँ पुर्याउने खेल भइराखेको छ,’ पौडेलले भने, ‘यसले आम सर्वसाधारणलाई समस्यामा पारेको छ ।’
उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार उत्पादकले मूल्य निर्धारण गर्न पाउँछन् । तर उपभोक्तालाई कार्टेलिङ गर्न पाइँदैन । उनीहरूले लोडसेडिङ, ढुवानी खर्चलगायतलाई कारण देखाएकाले उपभोक्ता संरक्षण ऐनबाट कारबाही हुन सकेको छैन । यसका लागि प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन २०६३ अनुसार मूल्य नियन्त्रण गर्न सकिन्छ ।
एउटा उद्योगीले मूल्य बढाए अर्कोबाट घटाएर मूल्य नियन्त्रण गर्न सकिन्छ । तर ऐनमा निर्देशित बोर्डको बैठक नै बसेको छैन । ऐनबाट कुनै काम भएको छैन । ‘कार्टेलिङलाई निरुत्साहित गर्न ऐन बन्यो । तर बोर्ड गठन भएन । त्यही कारण पनि समस्या देखियो,’ पौडैलले भने ।