गृहपृष्ठ Featured आश्रय भवन निर्माणमा ५० लाख सहयोग गर्ने राणालाई सम्मान

आश्रय भवन निर्माणमा ५० लाख सहयोग गर्ने राणालाई सम्मान

प्रकाशित मिति:

घरेलु र लैंगिक हिंसा प्रभावित महिला र बालिकाका लागि आश्रय गृह निर्माणका लागि सहयोग गरेकी राजी राज्यलक्ष्मी राणालाई तौलिहवामा सम्मानित गरिएको छ। साथी संस्थाको अगुवाइमा निर्माण सुरु गरिएको आवास गृहको स्थायी भवन निर्माणका लागी राणाले सो सहयोग गरेकी थिइन्।

जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य, साथीकी केन्द्रीय अध्यक्ष सजनी पनेरू अमात्य, संयुक्त राष्ट्रसंघीय सिड कमिटीकी सदस्य तथा साथीकी पूर्व अध्यक्ष वन्दना राणाले दाता राजी राज्यलक्ष्मी राणालाई दोसल्ला ओढाई कदरपत्रसहित सम्मान गरेका हुन्। सो अवसरमा निर्माणाधीन भवन नामाकरण प्रभु राजी भवन साथी आवास गृह तौलिहवा कपिलवस्तु राखिएको घोषणा गरिएको ताम्रपत्र अनावरण गरिएको थियो।

समन्वय प्रमुख आचार्यले हिंसापीडित महिला राख्नका लागि निर्माण थालिएको आवास गृह निर्माणका लागि राणाले उल्लेखनीय सहयोग गरेको बताए। उनले अहिलेको समयमा दाता राणाले नितान्त सामाजिक भावनाले प्रेरित भएर आवास गृहको जग्गा खरिद र भवन निर्माणमा गरेको सहयोगको सराहना गरे। आवास गृह भवन निर्माण पूरा भइनसकेको अवस्थामा दाताको थप सहयोग हुनेमा विश्वास व्यक्त गर्दै उनले जिल्लाका स्थानीय तहसमेत सहयोग गर्न तत्पर रहेको बताए।

समाजसेवी राणाले गरेको सहयोगका कारण आवास गृहको स्थायित्व सुनिश्चित गरेको साथीकी केन्द्रीय अध्यक्ष सजनी पनेरु अमात्यले बताइन्। निर्माणाधीन भवनका लागि कपिलवस्तुमा जस्तो घरेलु र लैंगिक हिंसा प्रभावितका लागि अति आवश्यक आवास गृहमा दाताको सहयोगको खुलेर प्रशंसा गरिन्। १६ वर्षयता सञ्चालनमा रहेको आवास गृहको स्थायी संरचना अभाव अब नरहनेमा उनले खुसी व्यक्त गरिन्।

भवन निर्माण पूरा भएसँगै दाता राणाबाटै भवन उद्घाटन गरी संरक्षकत्व ग्रहण हुनेमा अध्यक्ष अमात्यले बताइन्। संयुक्त राष्ट्रसंघीय सिड कमिटीकी सदस्य तथा साथीकी पूर्व अध्यक्ष वन्दना राणाले अभावका बीच आश्रय गृह अहिलेसम्म सञ्चालन हुँदै आएकोमा खुसी व्यक्त गरिन्। उनले साथीको स्वामित्वमा निर्माणाधीन भवनको नामाकरण प्रभु राजी भवन साथी आवास गृह तौलिहवा कपिलवस्तु राखिएको बताइन्।

अवास गृहको अधुरो संरचना निर्माणका दाताबाट थप सहयोग हुनेमा उनले विश्वास दिलाइन्। जिल्लाका केही स्थानीय तहले र कपिलवस्तु नगरपालिकाले आश्रय गृह निरन्तर सञ्चालनका लागि सहयोग गर्दै आएको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले बताए।

उनले आगामी दिनमा पनि आवास गृह स्थायित्वका लागि जिल्लाका पालिकाहरूले सहयोगमा तत्परता देखाउने प्रतिबद्धता जनाए। अहिलेको समयमा सामाजिक क्षेत्रमा सहयोग गर्ने कार्य गरेर दाता राणाले प्रशंसायोग्य कार्य गरेको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीले बताए।

आवास गृह निर्माणमा सबै पालिकाले सकारात्मक सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे। स्थायी आवास गृहको सुनिश्चितताले घरेलु र लैंगिक हिंसा प्रभावित महिला र बालिकाको न्यायका लागि सहयोग पुग्ने प्रजिअ विश्वप्रकाश अर्यालले बताए। दाताले आवास गृहमा लगानी गरेर पीडितका लागि न्याय खोज्ने कार्यमा ठुलो सहयोग गरेको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताए।

सम्बन्धित् समाचार