प्यूठानको सरुमारानी गाउँपालिका–२ दर्भानमा माघ ३ गते बिहान १० बजेतिर सडक खण्डको डष्टबिनभित्र मृत नवजात शिशु फालेको अवस्थामा सर्वसाधारणले देख्छन्। त्यो डष्टबिन गाउँपालिकाले फोहोर व्यवस्थापन गर्न सर्वसाधारणलाई सजिलो होस् भनेर राखेको थियो।
फोहोर फाल्न गएकी एक महिलाले बिहान १० बजे डष्टबिनभित्र एक नवजात शिशुको शव देखेकी थिइन्। तर, उनले त्यो कुरा केही समय कसैलाई भनिनन्। आफै केरकार र झमेलामा परिन्छ कि? भन्ने सोचले उनी डराएकी थिइन्। तर, उक्त कुरा उनले धेरैबेर छिपाउन सकिनन्। घर परिवारका सदस्यलाई भनिन्। त्यो कुरा एककान मैदान हुँदै फैलिन थाल्यो। पत्यार नलागेर अरू मानिसहरू पनि हेर्न गए। त्यसपछि बल्ल बिहीबार दिउँसो ३ बजेतिर मात्रै प्रहरीलाई कसैले खबर गरिदियो।
जिल्ला प्रहरी कार्यालय प्यूठानबाट प्रहरी प्रवक्ता प्रहरी निरीक्षक केशव केसीको कमाण्डमा प्रहरी घटनास्थल पुग्यो। प्रहरी पुग्दा मान्छेहरू जम्मा भइसकेका थिए। प्रहरीले घटनाको संवेदनशीलता ख्याल गरी तालिम प्राप्त कुकुर मगायो। भैरहवाबाट कुकुर त्यहाँ पुग्दा बेलुका ५ बजिसकेको थियो। घटनास्थल सुरक्षित राखेर त्यो बीचमा प्रहरीले आफ्नै ढंगले अनुसन्धान अगाडि बढाइसकेको थियो। आसपासमा बसोबास गर्ने गर्भवती सबै महिलाको विवरण संकलन गरिसकेको थियो।
परिवारसँगै बस्नेभन्दा एक्लै घरमा वा कोठा भाडामा बस्ने गर्भवती महिलाहरूलाई प्रहरीले विशेष निगरानीमा राखेर सोधपुछ गर्यो।
घटनास्थलभन्दा १५ मिटर नजिकै बस्ने कक्षा ९ मा अध्यनरत १७ वर्षीया ‘दर्भान’ पनि अरू सँगै घटनास्थल आइन्। प्रहरी निरीक्षक केसीले आफै ‘दर्भान’ लाई केही कुराहरू सोधे। तर, केसीले दर्भानको अनुहारमा पीडा वा आशंकाको एक अंश पनि फेला पार्न सकेनन्। भर्खरकी किशोरी दर्भान यति चिटिक्क परी आएकी थिइन् कि, कुनै शारीरीक वा मानसिक परिवर्तन प्रहरीले उनमा देख्न सकेन। सामान्य कुराकानीका क्रममा अरू जस्तै उनी पनि फटाफट गइन्। त्यसपछि उनी आफ्नो घर छिमेकी जिल्ला अर्घाखाँचीको शितगंगा पुगिन्। तालिम प्राप्त कुकुर घटनास्थल आइपुगेपछि बच्चा सँगै फालिएको कपडा सुँघाएर प्रहरीले कुकुरलाई छोडिदियो। ‘दर्भान’ कै बाटोतिर कुकुर लाग्न खोजे पनि ऊ अलमलियो। कारण, त्यहाँ आसपासमा अन्य धेरै मान्छेको मुभमेन्ट भइसकेको थियो। कुनै सुराक फेला नपरेपछि फेरि एक पटक प्रहरी एक्लै कोठामा बस्दै आएका केही सीमित महिलाहरूसँग सोधपुछ गर्ने निर्णयमा पुग्यो।
प्रहरी निरीक्षक केसीले आफै ‘दर्भान’ लाई फोन सम्पर्क गरे। उनले सहजै कुरा गरिन् र आफू आफ्नो घर अर्घाखाँचीको शितगंगा आएको कुरा गरिन्। प्रहरी निरीक्षक केसीले उनी बस्दै आएको ठाउँ अर्थात् घटनास्थल सरुमारानी गाउँपालिका–२ दर्भान आउन आग्रह गर्दा उनले सहजै स्वीकार गरिन्। प्रहरीको आग्रह अनुसार उनी आधा घन्टाभित्रै अटो चढेर घटनास्थल आइपुगिन्। प्रहरीले ‘दर्भान’ लाई फेरि सामान्य सोधपुछ गर्यो।








