पाल्पा ।
वृद्ध महिलाको हत्या आरोपमा दुई वर्षपछि जिल्ला प्रहरी कार्यालय पाल्पाले एक महिलालाई पक्राउ गरेको छ । रिब्दीकोट–५ कुसुम खोलाकी ७८ वर्षीया भुमकुमारी आलेको हत्या आरोपमा पक्राउ पर्ने महिला रिब्दीकोट गाउँपालिका–५ हर्रे खर्क बस्ने ५४ वर्षीया निरा कुमारी लम्तरी हुन् ।
उनलाई गत २०७९ असार ३१ गते घर नजिकैको जंगलमा दाउरा खोज्न गएकी आलेको हत्या आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । दाउरा खोज्न जंगल गएकी आले बेलुकीसम्म घर नफर्केपछि खोजी गर्दै जाँदा हर्रे खर्क जंगलमा मृत फेला परेको परिवारले जनाएका थिए ।
घरपरिवारका अनुसार बिहान खाना खाई १० बजेतिर दाउरा खोज्न जंगल गए पनि बेलुकी अबरेसम्म घर फर्केकी थिइनन् । सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले लम्तरीलाई पक्राउ गरी थप अनुसन्धान कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।