गृहपृष्ठ Featured ‘रूखबाट लडे’ भनिएका कुसारीको गोली लागी मृत्यु‚ २ जना पक्राउ

‘रूखबाट लडे’ भनिएका कुसारीको गोली लागी मृत्यु‚ २ जना पक्राउ

प्रकाशित मिति:

तुलसीपुर :  ‘रूखबाट लडे’ भनिएका युवाको गोली लागी मृत्यु भएको रहस्य खुलासा भएको छ। प्रहरीले भरुवा बन्दुकको गोलीबाट मृत्यु भएको घटनामा संलग्न २ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

 

 

यो रहस्य खुलासा भएसँगै दंगीशरण गाउँपालिका-२ कौवाघारीमा २५ वर्षीय प्रेमबहादुर कुसारीको बन्दुकको गोली लागेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङले आइतबार घटनामा संलग्न सोही ठाउँका २२ वर्षीय छविलाल डाँगी र २७ वर्षीय पुष्पलाल बस्नेतलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाका अनुसार घटना माघ ३ गते भएको थियो। दिउँसो करिब ४ बजेतिर कुसारी रूखबाट लडेर घाइते भएको भन्दै उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याएको थियो। तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगन्ज नर्सिङ होम बाँके पठाइएकोमा बेलुका करिब साढे ८ बजेतिर उनको मृत्यु भएको थियो।

त्यहीँ गएका वेला भरुवा बन्दुकको गोली (छर्रा) लागी मृत्यु भएको हो।

यसरी खुल्यो घटनाको रहस्य

प्रहरीका अनुसार मृतक कुसारीसँगै छविलाल डाँगी र पुष्पलाल बस्नेत माघ ३ गते दिउँसो राजाकोट सामुदायिक वनमा सिकार खेल्न जान्छन्। दिउँसो करिब ४ बजेतिर कुसारी रूखबाट लडेर घाइते भएको जानकारी दिइन्छ। जानकारी आएसँगै घाइते कुसारीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइन्छ। उनलाई सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज नर्सिङ होम बाँकेमा रिफर गरिन्छ। उनको राति करिब साढे ८ बजेतिर मृत्यु हुन्छ। त्यसपछि शव पोष्टमार्टमका लागि भेरी अस्पताल बाँके लगिन्छ। माघ ४ गते छोराको शव बुवा अबिर कुसारीले बुझेर घर ल्याउँछन्।

यत्तिकैमा प्रहरीलाई यो घटना शंकास्पद लाग्छ। अनि जिप्रका दाङका प्रमुख अर्जुनप्रसाद तिमिल्सिनाको कमान्डमा इप्रका तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीको प्रहरी टोली खटिई अनुसन्धान शुरु गर्न थाल्छ। यसबाट उनको रूखबाट लडेर नभई सिकार खेल्न गएका वेला भरुवा बन्दुकको गोली(छर्रा) ले लागेर मृत्यु भएको कुरा खुल्छ। त्यसपछि प्रहरीले कुसारीको शवलाई फेरि पोष्टमार्टम गर्न माघ ५ गते भेरी अस्पताल पठाउँछ। पोष्टमार्टम गर्दा आएको रिपोर्ट अनुसार मृतक कुसारीको खुट्टाको साँप्रा लगायत शरीरमा गोलीको (छर्रा) फेला पर्छ।

यतिन्जेल डाँगी र बस्नेत फरार भइसकेका हुन्छन्। यसैक्रममा बस्नेतलाई शनिबार तुलसीपुर बजारबाट र डाँगीलाई बाँकेको नेपालगन्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा डाँगी र बस्नेतलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

 

सम्बन्धित् समाचार