वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको मायादेवी गाउँपालिकाका स्थानीयले अब निःशुल्क रक्त सञ्चार सेवा प्राप्त गर्ने भएका छन् ।
मायादेवी गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी, रुपन्देही द्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्र बुटवलबीच बुधबार निःशुल्क रक्त सञ्चार सेवा उपलब्ध गराउने सम्झौता भएको पालिका अध्यक्ष वलिउद्दीन मुसलमानले जानकारी दिए । यस सम्झौतासंगै मायादेवीवासीले अब सहजै निःशुल्क रगत पाउने उनले बताए ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत राम कृष्ण तेलीले यो सम्झौताले समग्र पालिकावासी लाभान्वित हुने भएकाले पालिका जनताको पक्षमा काम गर्ने दिशातर्फ अघि बढेको स्पष्ट भएको बताए ।
तेलीले मायादेवीवासी र यस पालिकाका कर्मचारीलाई निशुल्क रक्त सञ्चार सेवा प्राप्त हुने गरि सम्झौता भएको बताए । सो सम्झौता माघ ९ गतेबाटनै लागु भएको छ ।
सो अवसरमा मायादेवि गाउपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख गिरिराज गौतम, जनप्रतिनिधि, तथा रक्त सञ्चार सेवा केन्द्र बुटवलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।









