डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेलगत्तै गैरअमेरिकी मातापिताबाट अमेरिकामा जन्मिएका बालबालिकाले स्वतः पाउने अमेरिकी नागरिकताको प्रवधान खारेज गरेका थिए । तर, ट्रम्पको यो कार्यकारी आदेशलाई अदालतले रोक लगाइदिएको छ ।
अमेरिकाको सिएटलस्थित एक संघीय अदालतका न्यायाधीशले ट्रम्पको उक्त आदेशमा अस्थायी रोक लगाएका हुन् । अमेरिकाका चार राज्यले ट्रम्पको उक्त कार्यकारी आदेशविरुद्ध अदालतमा चुनौती दिएका थिए । त्यसैको सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो ।
अमेरिकाको कानुन विभागका वकिलले ट्रम्पको आदेशको बचाउ गरेका थिए । बीबीसीका अनुसार त्यसक्रममा न्यायाधीशले ती वकिललाई प्रश्न गरेका थिए- के यो संवैधानिक छ ?
ट्रम्पले जारी गरेको आदेशमा कुन परिस्थितिमा जन्मनासाथ अमेरिकी नागरिकता पाइँदैन भन्ने उल्लेख छ । जसमा शिशुकी आमा अवैध रूपमा अमेरिकामा बसेको भए त्यस्तो अवस्थामा नागरिकता नपाउने उल्लेख थियो । त्यस्तै शिशु जन्मिएको समयमा पिता अमेरिकाको नागरिक नभए या वैध स्थायी निवासी नभए त्यस्तो बच्चाले पनि नागरिकता नपाउने उल्लेख थियो ।
त्यस्तै शिशु जन्मिएको समयमा आमा अमेरिकामा वैध बस्दै आए पनि उनी अस्थायी निवासी भए एवं पिता शिशुको जन्मको समयमा अमेरिकी नागरिक या वैध स्थायी निवासी नभएको अवस्थामा नागरिकता नपाउने उल्लेख थियो ।