भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान खुलेको छ । परराष्ट्र मन्त्रालयले रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको निधन भएको जनाएको छ ।
मन्त्रालयका अनुसार निधन हुनेमा कैलालीका ४३ वर्षीया कमला नवीन भण्डारी र ४० वर्षीय लछिराम पासी छन् । यस्तै, अछामका ११ वर्षीय हिन्दुराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा र ६० वर्षीय कला कामी रहेका छन् । त्यस्तै, बाँकेका ३२ वर्षीय राधेश्याम राधको पनि निधन भएको छ ।
दुर्घटनामा घाइते भएका चार नेपालीमध्ये तीन जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका एक जनाको गोदावरी अस्पताल जलगाउँमा उपचार भइरहेको छ । दुर्घटनामा ज्यान गुमाएका नेपालीको शव ल्याउन तथा घाइतेको शीघ्र उपचारका लागि परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली दूतावास र काठमाडौंस्थित भारतीय दूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायसँग समन्वय एवम् सहजीकरण गरिरहेको जनाइएको छ ।
९ माघको साँझ करिब पाँचतिर भारतको महाराष्ट्र राज्य, जलगाउँ जिल्लाको परधाडे स्टेशननजिकै रेल दुर्घटना भएको थियो ।








