बुटवल ।
बुटवलबासीका लागि ‘दोस्रो मेलम्ची’ जस्तै बनेको झुम्सा खानेपानी आयोजना ६ पटक म्याद थप्दा पनि पूरा भएको छैन । झण्डै २९ करोडको यो आयोजनाले पूर्णता नपाउँदा बुटवलमा शुद्ध र पर्याप्त खानेपानी सुविधाको सपनाले ३० वर्ष नाघिसकेको छ ।
२०५२/०५३ सालमै पाल्पाको झुम्सास्थित सिस्ने खोलाबाट बुटवलमा दैनिक सात लाख लिटर पानी ल्याउने योजना अघि सारिएको थियो । तर एक दशकपछि सिस्ने खोलाले बुटवलको माग नधान्ने ठहर गर्दै मुहान फेरियो ।
सिस्नेको सट्टा हालको तिनाउँ गाउँपालिका–३ मा रहेको गोरबन्दिझारबाट दैनिक ३ करोड २० लाख लिटर पानी बुटवल ल्याउने योजनासहित २०६४/०६५ मा झुम्सा खानेपानी आयोजना अघि सारिएको थियो । त्यसका लागि खानेपानीको मुहान क्षेत्रमा बनाइएको ड्याम नै खोलाले बगाइदिएको थियो ।
त्यसपछि फेरि २०७७ साल जेठ २ गते झुम्सा खानेपानी आयोजनाको नयाँ ठेक्का सम्झौता भयो । त्यसको पनि ६ पटक म्याद थपिए पनि अझै पूरा भएको छैन । त्यसैले बुटवलबासी निजी क्षेत्रले ट्यांकर र जारमा बिक्री गर्ने पानीमा भर पर्न बाध्य छन् ।
बुटवलमा दैनिक ३ करोड लिटर खानेपानीको माग भए पनि आधामात्र आपूर्ति हुँदै आएको छ ।