काठमाडौँ ।
सरकारले सहकारीमा देखिएका समस्याहरूको दीर्घकालीन समाधानको लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गरेको छ । ललितपुरको पुलचोकमा स्थापना गरिएको प्राधिकरण कार्यालयको उद्घाटन सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गरेका हुन् ।
सहकारी नियमन प्राधिकरणको उद्घाटन गर्दै मन्त्री अधिकारीले सहकारीहरूको नियमन र बचतकर्ताको बचत रकम अपचलन गर्ने जो कोहीलाई कानुनको दायरामा ल्याउन सकिने विश्वास व्यक्त गरे । उनले सहकारी क्षेत्रमा देखिएका समस्याहरूको सम्बन्धमा स्थानीय तह, प्रदेश र संघ सरकारले अपनत्व ग्रहण गर्ने गरी प्राधिकरणको गठन गरिएको दाबी गरे ।
सहकारी सम्बन्धी ऐन र कानुनहरू पुराना भएका कारण केही समस्या सिर्जना भएको उल्लेख गर्दै समयानुकूल बनाउँदै लैजाने उनको भनाई छ । उनले प्राधिकरणको कार्यान्वयनका लागि सर्च कमिटी गठन गर्न ढिलाइ हुने भएका कारण तत्काल मन्त्रालयका सचिव अध्यक्ष रहने गरी व्यवस्था गरिएको जानकारी दिए ।
मन्त्री अधिकारीले केहीले सरकार ढलिहाल्छ भनेर कुप्रचार गरिरहेको आरोप लगाए । उनले वर्तमान सरकार स्पष्ट बहुमतको भएको उल्लेख गर्दै कसैले ढाल्छु भन्दैमा नढल्ने जिकिर गरे ।
उनले भने, ‘यहाँ कसैकसैले सरकार बन्दाका दिनदेखि नै लौ यो सरकार त ढलिहाल्छ भनेर अहिलेसम्म गरिरहेको अवस्था छ । हामी सरकारमा छौँ हामीलाई त त्यस्तो लाग्दैन । किनभने यो स्पष्ट बहुमतको सरकार छ । यो सरकारलाई अरूले ढाल्छु भनेर नि ढल्दैन । कसैलाई लाग्छ होला चलखेल गरेर ढाल्छु । तर त्यसो लाग्दैमा सरकार ढल्नेवाला छैन ।’