गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगामा प्रथम आधारभूत तह एवम् ७औं नगरस्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु

बाणगंगामा प्रथम आधारभूत तह एवम् ७औं नगरस्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा प्रथम आधारभूत तह एवम् ७औं नगरस्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता शुक्रबारदेखि चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले यस प्रतियोगिताले खेलाडीहरुको खेल सिपमा निखार्ता ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । यस प्रतियोगिताले क्षमतावान खेलाडी तयार गर्ने आधार प्रदान गर्ने उनको भनाई छ ।

उनले खेलप्रति रुचि भएकाहरुलाई खेलकुदमै भविष्य बनाउने गरि कडा परिश्रम गरेर अघि बढ्न आग्रह गरे । त्यसका लागि आफुले आवश्यक पहल र सहयोग गर्ने उनले प्रतिवद्धता जनाए । उनले समग्र राष्ट्रले नै खेलकुद क्षेत्रलाई थप प्राथमिकता दिएर बजेट विनियोजन गर्न आवश्यक रहेको समेत बताए ।

बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले भौतिक पूर्वाधारहरु निर्माण हुनु मात्र विकास नभएको बताउँदै खेलकुद क्षेत्रको विकासलाई नगरले उच्च प्राथमिकतामा राखेको बताए । उनले यस प्रतियोगिता आफ्नो प्रतिभा प्रस्फुटन गर्ने महत्वपूर्ण अवसर भएको बताए । उनले अध्ययनका साथसाथै अतिरिक्त क्रियाकलाप तथा खेलकुदका गतिविधि अगाडी बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले विभिन्न राष्ट्रहरु खेलकै माध्यमबाट समृद्धितर्फ अग्रसर भएको बताए । उनले नेपाललाई पनि खेलकुदकै माध्यमबाट विश्व समुदायमा चिनाउन सकिने बताए । आधारभूत तहको खेलकुद प्रतियोगिताले साना बालबालिकाहरुमा समेत खेल भावनाको विकास गराउने उनको विश्वास छ ।

 

उपप्रमुख रिता कुमारी चौधरीले बाणगंगा नगरपालिकाले विधार्थीहरुको आवश्यकतालाई पहिचान गरेर हरेक बर्ष यस्ता प्रतियोगिता संचालन गर्दै आएको स्मरण गराईन् । उनले यस्तै प्रतियोगिताबाट नगरले हरेक बर्ष नयाँनयाँ प्रतिभाको खोजी गर्न सफल भएको भन्दै खुशी व्यक्त गरिन् ।


नगर खेलकुद विकास समितिका अध्यक्ष पदम सेनले यस प्रतियोगिता आगामी माघ २४ गतेसम्म चल्ने जानकारी दिए । उनका अनुसार आगामी माघ २७ देखि फागुन ३ गतेसम्म मेयर कप हुने छ भने फागुन ५ देखि ७ गतेसम्म उपमेयर कप अन्तर्गत नगरस्तरिय महिला बलिबल प्रतियोगिता हुने छ ।

बाणगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसीको संचालनमा सम्पन्न उक्त कार्यक्रममा नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए ।

सम्बन्धित् समाचार