घनश्याम भर
(विजयनगर) कपिलवस्तु, १८ माघ ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिकाका किसान कृषि उत्पादन र प्रविधि प्रदर्शनमा ३ जना प्रथम, २ जना द्वितीय र १ जना तृतीय स्थान हासिल गरेका छन् । व्यापार संघ कपिलवस्तुको आयोजनामा सञ्चालित नवौँ चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा विजयनगर गाउँपालिका कृषि विकास शाखाले आयोजना गरेकाे कृषि उत्पादन तथा प्रविधि प्रदर्शनमा उनीहरू विभिन्न उत्कृष्ट स्थान प्राप्त गरेका हुन् ।
कृषि उत्पादन तथा प्रविधि प्रदर्शनमा गाउँपालिकाकाे वडा नम्बर १ बस्ने तीजमान राईले खाद्यान्न बाली मकैमा, वडा नम्बर २ बस्ने इमनाथ बरालले लहरी बाली काक्रामा र वडा नम्बर ४ बस्ने बाविता यादवले तरकारी बाली काउलीमा प्रथम स्थान प्राप्त गर्न सफल भएका हुन् ।
यस्तै वडा नम्बर ४ बस्ने सुनिल पाण्डेले तरकारी बाली ब्राे काउलीमा द्वितीय स्थान र वडा नम्बर ४ बस्ने वंशराज यादवले पनि लहरे बाली लाैकामा द्वितीय स्थान हासिल गरेका छन् । यसैगरी वडा नम्बर ४ बस्ने सन्नु खाँनले फलफूल बाली मेवामा तृतीय स्थान ल्याउन सफल भएकी छन् ।
कृषि उत्पादन र प्रविधि प्रदर्शनमा विभिन्न स्थान प्राप्त गरेका कृषकलाई प्रमाण-पत्र र नगदसहित पुरस्कृत गरिएको नवौँ चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव मेलाका संयाेजक महादेव पाेख्रेलले बताए ।
विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले शुक्रबार विभिन्न स्थान हासिल गरेका कृषकलाई प्रमाण-पत्र प्रदान गरेका हुन् । खाद्यान्न, तरकारी बाली लगायत उत्पादनमा उत्कृष्ट खाद्यान्न र तरकारी पाकेट क्षेत्र भएकाे देखिएकाे छ । अध्यक्ष थापाले गाउँपालिकाले कृषिलाई प्राथमिकतामा राखेकाे बताउँदै कृषि पकेट क्षेत्रकाे रुपमा विस्तार गर्दै अगाडी बढेको बताए । कृषकलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि विभिन्न कृषिका कार्यक्रमहरुसमेत लागू गरि याेजनाबद्ध रुपमा लागेकाे उनले बताए ।