सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेको श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुसिल सिंह ठकुरीले श्रृङ्गीघाटलाई नेपालकै वन अध्ययन अनुसन्धान केन्द्रको हव बनाउन माग गरेका छन् । अध्यक्ष ठकुरीले नेपाल सरकारका वन तथा वातावरण राज्यमन्त्री रुपा विक समक्ष यस सामुदायिक वनको वन क्षेत्रलाई वन अध्ययन अनुसन्धान केन्द्रको हव बनाउन माग गरेका हुन् ।
अध्यक्ष ठकुरीले आईतबार मन्त्री विकलाई वन क्षेत्रहरुको अवलोकन गराउँदै यस्तोे माग गरेका हुन् । उनले यस वन क्षेत्रलाई वन्यजन्तु संरक्षण तथा सम्बद्र्धनको हबका रुपमा समेत विकास गर्नुपर्ने बताए ।
उनले बाणगंगा नगरपालिका क्षेत्रमा हरेक बर्ष हुदैं गईरहेको नदी कटानले निकट भविष्यमा मानव बस्तीमै जोखिम आउने भएकाले अहिले नै सचेत हुनुपर्ने बिफ्रिङ्ग गरेका थिए । सो क्रममा उनले त्यसका लागि नदीको दुईतर्फ नै तटबन्ध गर्नुपर्ने बताए ।
ढोरपाटनसंग जोडिने गरि बाणगंगा करिडोर निर्माण गर्ने दिर्घकालीन योजना आफुहरुको रहेको उनले सुनाए । उनले बाणगंगा नदीबाट सौर्य उर्जाको योजनामार्फत वनमै ट्याक्की निर्माण गर्ने योजना रहेको बताए । ’यहाँ ८ ओटा प्लट क्षेत्र छन् । सबै क्षेत्रका अग्नी रेखामा अण्डर ग्राउण्ड पाईप लाईन मार्फत प्रविधिका माध्यमबाट पानी सप्लाई गरेर आवश्यकता अनुसार डढेलो लागेको बेला निभाउन सकिन्छ,’ उनले भने ।
उनले ठाउँठाउँमा पोखरी निर्माण गरि पोखरीमा पानी संचय गरेर जीवजन्तुका लागि समेत राहात हुने बताए । सोही संयन गरिएको पानी आवश्यकता अनुसार ससना बोटविरुवामा समेत उपयोग गर्न सकिने उनले सुनाए । विस्तृत अध्ययनसहितको प्रस्तावना लिएर आफ्नो टिम मन्त्रालयमा आउने बताउँदै अध्यक्ष ठकुरीले त्यसका लागि आवश्यक बजेट विनियोजन गर्न ठोस पहल गर्न आग्रह गरे ।
अध्यक्ष ठकुरीले सामाजिक क्षेत्रमा वनले हरेक बर्ष काम गर्न आएको बताए । वृक्षरोपण, सौन्दर्यीकरण, शिक्षा, स्वास्थ्यका क्षेत्रमा वनले योजनाबद्ध रुपमा काम गरेको उनले सुनाए ।
राज्यमन्त्री विकले श्रृङ्गीघाट सामुदायिक वनले वन संरक्षण र समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै खुशी व्यक्त गरिन् । उनले यद्यपी हालसम्म समग्र वन क्षेत्रलाई जनताको जीवन र आयआर्जनसंग जोड्न नसकिएको बताईन् । उनले श्रृङ्गीघाट सामुदायिक वनको सिको गर्न वनले गर्नुपर्ने आवश्यकता रहेको बताईन् ।
उनले श्रृङ्गीघाट सामुदायिक वनको युवा नेतृत्वसहितको पदाधिकारीहरुबाट आफु अत्यन्त प्रभावित भएको बताईन् । उनले यस वन क्षेत्रमा प्रत्यक्ष रुपमा आएर धेरै विषयहरुमा सिक्ने अवसर पाएको बताए ।
वन व्यवस्थापनका लागि प्रदेश सरकारसंग मन्त्रालयले सहकार्य गर्न लागेको उनले बताईन् । वन व्यवस्थापन र संरक्षण क्षेत्रमा देशका अन्य वनहरुले कपिलवस्तुको सिको गर्ने गरेको उनले बताईन् । उनले विस्तृत परियोजनासहित मन्त्रालयमा आउन आग्रह गर्दै आवश्यक सहयोग सहकार्य गर्ने प्रतिवद्धता जनाईन् ।
सोही कार्यक्रममा मन्त्री विकलाई वनले स्वागत तथा सम्मान गरेको वनकी सचिव सुष्मा खाँणले बताईन् । उनले वनका दिर्घकालीन योजनाहरु कार्यान्वयन गर्न मन्त्रालयले आवश्यक सहयोग समन्वय गर्ने विश्वास व्यक्त गरिन् ।