कपिलवस्तु ।
लेखक तथा रचनाकार दिलिप कार्की र अनन्तराज रेग्मीको कविता संग्रह एकसाथ विमोचन गरिएको छ । सोमबार वसन्त पञ्चमीको अवसरमा दिलिप कार्कीका कविताहरू र अनन्त ज्ञानमञ्जरी नामक कविता सङ्ग्रह विमोचन गरिएको हो ।
दिलिप कार्कीका कविताहरू कविता संग्रहमा ३० ओटा कविताहरु समावेश छन् भने अनन्त ज्ञानमञ्जरीमा २१ ओटा कविता समावेश छन् । ति कविता संग्रह बाणगङ्गा सामुदायिक पुस्तकालयको परिसरमा सार्वजनिक गरिएको हो ।
बाल माध्यमिक विद्यालय प्रकाशक रहि अनन्त ज्ञानमञ्जरी कविता सङ्ग्रह र बाणगंगा सामुदायिक पुस्तकालय प्रकाशक रहि संस्थाका अध्यक्ष कवि दिलिप कार्कीको रचनामा दिलिप कार्कीका कविताहरू कविता संग्रह एकसाथ विमोचन भएका छन् । विमोचन भएका दुवै कविता सङ्ग्रहको समीक्षा गर्दै शैक्षिक व्यक्तित्व ज्ञानराज अर्यालले रचनाकार कविहरूलाई बधाईसहित धन्यवाद दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रिता कुमारी चौधरीले दुबै रचनाकारका कृतिमा प्रकाशित एक एक कविता वाचन गरेकी थिईन् । ईन्टरनेट र विभिन्न सामाजिक संजालको विकासले संसारका हरेक क्षेत्रलाई बुझ्न सहज भएपनि पुस्तक र पुस्तकालयको महत्वलाई कसैले मेट्न नसक्ने बताईन् । उनले बाणगंगा सामुदायिक पुस्तकालयको भवन निर्माणको लागी आफु सकारात्मक रहेको भन्दै सुरुमा जग्गा प्राप्तिमा लाग्न आग्रह गरिन् ।
उनले पुस्तकालय ज्ञान हासिल गर्ने सशक्त माध्यम भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताईन् ।
सोही कार्यक्रममा काव्य साधक साहित्य रत्न पुरस्कारबाट कवि कृष्ण प्रसाद पाण्डे र आत्मराम आचार्यलाई दोसल्लासहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।
यस्तै स्थापना कालदेखी संस्थालाइ निशुल्क हांक साप्ताहिक पत्रिका उपलब्ध गराइ सहयोग पुराएका संचारकर्मी हिमलाल वाग्लेलाई समेत सम्मान गरिएको थियो ।