भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन–अथोराइजेसन रिक्वायर्ड) प्रणाली लागू भए पनि कार्यान्वयनमा आउन सकेको छैन।
विमानस्थलमा यसअघि नै उपकरणमा आधारित उडान–अवतरण प्रणाली आइएलएस (इन्स्ट्रूमेन्टल ल्यान्डिङ सिस्टम) जडान भएको थियो। तर भारतले अनुमति नदिँदा प्रयोगमा आउन सकेको छैन। यसले गर्दा हिँउँदमा लाग्ने बाक्लो हुस्सु र कुहिरोले जहाज उडान–अवतरणमा समस्या हुँदै आएको थियो।
बाक्लो हुस्सु तथा कुहिरोका कारण विमानस्थलको भिजिबिलिटी कम भएपछि अन्तर्राष्ट्रिय उडानहरू अन्यत्र डाइभर्ट हुँदै आएका थिए। नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसैको विकल्पमा भू–उपग्रहमा आधारित आरएनपी–एआर प्रणाली लागू गरेको हो। यो प्रणाली विश्वका धेरै देशका विमान र विमास्थलहरूमा प्रयोग भइसकेको छ।
भैरहवा विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले गत माघ १० गतेदेखि आरएनपी–एआर प्रविधि लागू भए पनि प्रयोगमा अझै आउन नसकेको बताए।
‘प्राधिकरणको तर्फबाट गर्नुपर्ने काम सम्पन्न भएको छ। अब एयरलाइन्सले चासो दिएर म यो प्रविधि प्रयोग गरेर जहाज अवतरण गर्छु भनेर नियामक निकायबाट अनुमति लिनुपर्छ। जसले यो विधिबाट अवतरण गर्न चाहन्छ, उसले अनुमति लिएर त्यो प्रविधि भएको जहाज यहाँ ल्याउनुपर्छ। पाइलटलाई तालिम दिनुपर्छ। तर अहिलेसम्म म यो प्रविधि प्रयोग गर्छु भनेर कसैले भनेको छैन,’ तिवारीले भने।
अहिले विमानस्थलमा यान्त्रिक प्रविधिमार्फत् जहाज उडान–अवतरण हुँदै आएका छन्। यान्त्रिक प्रविधिमार्फत उडान अवतरण गर्दा कम्तीमा एक हजार ८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ। तर आरएनपी–एआर प्रणालीको प्रयोग गर्दा न्यूनतम ९ सय मिटर भिजिबिलिटीमै जहाज सहज रूपमा उडान–अवतरण गर्न सक्छ।