दाङ ।
भारतीय एक्जिम बैंकको सशर्त ऋण सहयोगमा ठेक्का भएर पनि अलपत्र परेको घोराही–तुलसीपुर सडक चार लेन विस्तार कालागि नेपाल सरकारले ठेक्का आह्वान गरेको छ ।
आज सार्वजनिक सूचना जारी गर्दै सडक विभाग अन्तर्गतको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले तीन अर्ब ९९ करोडको ठेक्का आह्वान गरेको हो ।
यस अघि पनि भारतीय एक्जिम बैंकको सशर्त ऋण सहयोगमा ठेक्का भई काम सुरु भएको सडक स्तरोन्नतिको काम अलपत्र परेपछि ठेक्का सम्झौता रद्द भएको थियो ।
स्थलगत सर्वे एवम् लागत अनुमानको फाइल सडक विभागबाट स्वीकृत भएपछि आज ठेक्का आह्वान गरिएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका निर्देशक इन्जिनियर दीप बाराहीले जानकारी दिए ।
ठेक्कामा आवेदन गर्ने अवधि ३० दिनको तोकिएको छ । त्यसपछि अन्य प्रक्रिया अघि बढ्ने इन्जिनियर बाराही बताए । उनका अनुसार यस सडकखण्डमा अहिले भएका दुई लेनमा सीमित पुल पनि चार लेनकै बन्ने छन् ।
निर्देशनालयका अनुसार घोराहीको डिके पम्पदेखि तुलसीपुरको हात्तीखौवासम्म करिब साढे २१ किलोमिटर लम्बाइमा सडक चार लेन हुनेछ ।