सागर वि.क., वैखरी अनलाईन ।
बाणगंगा नगरपालिकामा जारी छैठौं मेयर कप फुटवल प्रतियोगिताको उपाधिका लागि वडा नं.१ र २ भिड्ने भएका छन् ।
विहिबार चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा वडा नं.९ लाई ४–० गोलले पराजित गर्दै वडा नं.१ फाईनलमा पुगेको नगर खेलकुद विकास समितिका अध्यक्ष पदम सेनले जानकारी दिए ।
वडा नं.१ को जितमा कुनाल सारुले दुई गोल गरेका हुन् भने राजु थारु र राम बहादु विकले एक÷एक गोल गरे । एक गोल गरेका रामबहादुर ‘म्यान अफ दि म्याच’ घोषित भए ।
यस्तै विहिबार नै भएको दोस्रो सेमिफाईनल खेलमा वडा नं.१० लाई २–० गोलले पराजित गर्दै वडा नं.२ ले फाईनल यात्रा तय गरेको अध्यक्ष सेनले जानकारी दिए । वडा नं.२ को जितमा संजय कार्की र मनिष पुनले एक÷एक गोल गरेका हुन् ।
दोस्रो सेमिफाईनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका वडा नं.२ का राम प्रसाद मिधुन ‘म्यान अफ दि म्याच’ घोषित भए । प्रतियोगिताको फाईनल खेल यही माघ ३ गते दिउँसो २ बजे हुने जनाईएको छ ।
हालसम्म मेयर कपको उपाधि वडा नं.१ र २ दुवैले दुई÷दुई पटक जितेका छन् ।
फाईनल खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।








