गृहपृष्ठ Featured कपिलवस्तुका न्यायाधीश गिरीको सम्बन्धविच्छेद: आरतीलाई मासिक १२ हजार दिनुपर्ने

कपिलवस्तुका न्यायाधीश गिरीको सम्बन्धविच्छेद: आरतीलाई मासिक १२ हजार दिनुपर्ने

कपिलवस्तुका  निलम्बित न्यायाधीश भुवन गिरी र पत्नी आरतीबीच सम्बन्धविच्छेदको फैसला भएको छ।

जिल्ला अदालत बाँकेले निलम्बित न्यायााधीशले आरतीसँग सम्बन्ध विच्छेदको माग गर्दै दायर गरेको निवेदनमा दाबी पुग्ने फैसला सुनाएको हो।

गिरीले सम्बन्ध विच्च्छेदको मुद्दा दायर गरेपछि आरतीले पनि सम्बन्ध विच्छेदमा सहमति जनाउँदै अर्को निवेदन दिएकी थिइन्। दुवैपक्षले सम्बन्ध विच्छेदका माग गरेपछि जिल्ला न्यायाधीश भीष्मराज प्रसाईंको इजलासले उनीहरूको मागबमोजिम नै हुने फैसला सुनाएको हो।

जिल्ला अदालत बाँकेका सूचना अधिकारी सुरेश मल्लले भुवन गिरी, आरती र भुवन गिरीकी पहिलो पत्नीतर्फकी छोरी भावनाले दायर गरेका १० वटै निवेदनमा एकसाथ फैसला भएको हो।

गिरीले सम्बन्ध विच्छेदका लागि २०७९ मंसिर ११ गते नै निवेदन दिएका थिए। उनले त्यसपछि पनि आरतीविरुद्ध बेइज्जतीका ७ वटा निवेदन दिएका थिए। आरतीले २०८० असार ३ गते खाना खर्चको माग गर्दै अर्को निवेदन दिएकी थिइन्।

भावनाले पनि २०८० भदौ १९ गते अंश मुद्दा दिएकी थिइन्। यी सबै मुद्दामा फैसला भएको हो।

आरतीलाई भुवन गिरीले मासिक १२ हजार रुपैयाँ खाना खर्चवापत दिनुपर्ने फैसला भएको छ। आरतीले निवेदन दिएको मितिदेखि फैसला कार्यन्वयन हुँदासम्म दिनुपर्ने मल्लले बताए।

यस्तै पहिलो पत्नीतर्फकी छोरीलाई पनि अंश दिनुपर्नेछ। भुवन गिरीको नाममा रहेको सम्पत्ति ६ भाग लाग्ने भएको छ। त्यसमध्ये भावनाले एक भाग पाउनेछिन्।

आरतीको नाममा रहेको सम्पत्ति भने अंश लाग्ने छैन। भुवन गिरीले दिएका बेइज्जतीका मुद्दामा भने दाबी नपुग्ने ठहर गरेको छ।

न्यायाधीश गिरी हाल कारागारमा कैद भुक्तान गरिरहेका छन्। उनलाई पूर्वपत्नी आरतीले जबरजस्ती शारीरिक सम्बन्ध राखेको मुद्दामा जिल्ला अदालत काठमाडौँले दोषी ठहर गरिसकेको छ। गत जेठ १३ गते दोषी ठहर गर्दै जेठ २८ गते सजाय निर्धारण भएको थियो। उनलाई उक्त मुद्दामा ७ वर्ष कैदको फैसला भएको छ।

बलात्कार मुद्दा लागेपछि न्यायाधीशबाट उनी निलम्बित भएका छन्।

सम्बन्धित् समाचार