दुई दशकभन्दा लामो समयदेखि शेरबहादुर देउवालाई निरन्तर साथ र सहयोग गर्दै आइरहेका नेपाली कांग्रेसका नेताहरूको एक समूह शुक्रबार बिहानै बूढानीलकण्ठ पुग्यो।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको अग्रसरतामा उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री प्रकाशमान सिंह, शशांक कोइराला, सहमहामन्त्री उमाकान्त चौधरी, प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्य एनपी साउद, बालकृष्ण खाणलगायत देउवा निवास पुगेका हुन्।
यही समूहको आडभरोसामा देउवा कांग्रेसको १० औं महाधिवेशनदेखि तत्कालीन संस्थापनसँग संघर्षमा थिए।
उनै नेताहरूको सहयोगमा देउवा २०७२ फागुनमा १३ औं महाधिवेशनबाट सभापति जिते, २०७८ मंसिरको महाधिवेशनमा पनि पार्टीभित्र आफ्नो प्रभुत्व कायमै राख्न सफल भए।
सभापति देउवाको कार्यकाल सकिन १० महिना बाँकी छ। विधानले नै अब देउवालाई तेस्रो कार्यकाल सभापति पदमा उम्मेदवार हुन दिँदैन।
पाँच वटा महाधिवेशनमा देउवाको नेतृत्वमा रहेका नेताहरूभित्र १५ औं महाधिवेशनमा देउवा समूहबाट को सभापति हुने भन्ने निर्क्यौल भइसकेको छैन। सँगसँगै देउवाले कसलाई आशीर्वाद दिन्छन् भन्ने यी नेताहरूमा पनि सन्देह छ।
एक्लाएक्लै भेटमा सभापति देउवाले भावी सभापतिमा अघि सार्ने व्यक्तिको नाम नलिँदा समूह नै बनाएर पूर्वपदाधिकारीहरू शुक्रबार देउवा निवास पुगे र समूह एकढिक्का बनाउन भूमिका खेलिदिन आग्रह गरेर फर्किएका छन्। तर सभापति देउवाले अबको सभापति उम्मेदवार को हुन्छ भन्नेबारे केही कुरा खोलेका छैनन्।
पूर्वउपसभापति गोपालमान श्रेष्ठले १० औं महाधिवेशनदेखि नै देउवालाई सहयोग गर्दै आएका नेताहरू र सभापति देउवाबीच पार्टीका आन्तरिक विषय र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरिएको बताए।
‘पूर्वउपसभापतिहरू, वर्तमान उपसभापतिसहित पूर्वमहामन्त्रीहरू, वरिष्ठ केन्द्रीय सदस्यहरू आज छलफलमा बसेको हो, १० औं महाधिवेशनदेखि १४ औं महाधिवेशनसम्म देउवालाई सघाएका नेताहरू छलफल गरेका हौं,’ उनले भने, ‘सभापति र लामो समयदेखि सहयोग गर्दै आइरहेका साथीहरूका बीचमा अन्तर्क्रिया भएको हो।’
बूढानीलकण्ठमा करिब साढे दुई घन्टा भएको छलफलमा देउवा समूहलाई एकढिक्का राख्दै १५ औं महाधिवेशन तयारीमा जुट्नुपर्ने कुरा मुख्य रह्यो।
‘विगतमा हामीले तपाईंलाई सहयोग गरेको हो नि भनेर सभापतिजीलाई सस्मरण गराएको हो,’ श्रेष्ठले भने। नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाएका बेला सभापति देउवा जेल परेको र त्यसबेला आफूले पार्टी हाँकेको, दु:खमा देउवालाई सहयोग गरेकोले अब देउवाले पनि अबको सभापतिमा आफूलाई सहयोग गर्नुपर्ने श्रेष्ठले बताउँदै आएका छन्।