दाङ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आवधिक योजना र आयोजना बैंकमार्फत योजना छनोटको प्रक्रियालाई प्रभावकारी बनाइने बताएका छन् ।
लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना तर्जुमासम्बन्धी प्रदेश विकास परिषद् बैठकलाई शनिबार लमहीमा सम्बोधन गर्दै उनले टुक्रे आयोजनालाई निरुत्साहित गर्न आवधिक योजना र आयोजना बैंकले समेटेका योजनाहरुलाई वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने बताए ।
‘प्रदेश सरकारले डाटाबेसमा रहेर योजना बनाउँछ । यो कामलाई प्राथमिकतामा राखेर अघि बढेका छौं,’ उनले भने, ‘तथ्यांक र प्रमाणलाई आधार मानेर योजना छानिन्छन् । यसका लागि आवधिक योजना र आयोजना बैंकले हामीलाई सहयोग गर्ने छ ।’
प्रदेश सरकारले नयाँ योजना थप्नेभन्दा पनि अधुरा आयोजनालाई सम्पन्न गर्न प्राथमिकतामा राखेको, रणनीतिक रुपमा महत्त्व बोक्ने, प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्र विकासमा योगदान पुर्याउने योजनालाई सरकारले प्राथमिकतामा राख्ने आचार्यले बताए ।