गृहपृष्ठ Featured ओसासुनासँग बराबरीमा रोकियो रियल मड्रिड

ओसासुनासँग बराबरीमा रोकियो रियल मड्रिड

स्पेनिस ला लिगामा रियल मड्रिड ओसासुनासँग बराबरीमा रोकिएको छ ।

गएराति भएको खेलमा रियल मड्रिड ओसासुनासँग १-१ गोलको बराबरीमा रोकिएको हो । खेलमा सुरुवाती अग्रता भने रियल मड्रिडले लिएको थियो ।

खेलको १५औँ मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३९औँ मिनेटमा मिडफिल्डर जुड बेलिङ्‌घम रातोकार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल मड्रिड १० खेलाडीमा सीमित भएको थियो ।

पहिलो हाफमा लिएको १-० को अग्रतालाई दोस्रो हाफमा भने कायम राख्न सकेन । खेलको ५८औँ मिनेटमा ओसासुनाले पेनाल्टी पायो । एदुआर्दो कामाभिङ्गाले आन्ते बुदिमिरलाई फाउल गरेपछि पाएको पेनाल्टीमा ओसासुनाका बुदिमिरले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए ।

बराबरीसँग रियल मड्रिडले ला लिगाको शीर्ष स्थानमा चार अंकको अग्रता लिने मौका गुमायो । शीर्ष स्थानमा रहेको रियल मड्रिडको २४ खेलबाट ५१ अंक छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको समान खेलबाट ५० अंक छ । एक खेल कम खेलेको बार्सिलोनाको ४८ अंक छ ।

सम्बन्धित् समाचार