गृहपृष्ठ खबर बुद्धरंगशालामा प्रथम वडा अध्यक्ष रनिङ्ग फुटवल प्रतियोगिता सुरु : वडा नं.६ को विजयी सुरुवात

बुद्धरंगशालामा प्रथम वडा अध्यक्ष रनिङ्ग फुटवल प्रतियोगिता सुरु : वडा नं.६ को विजयी सुरुवात

वैखरी अनलाइन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा प्रथम वडा अध्यक्ष रनिङ्ग फुटवल प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता बाणगंगा नगरपालिका वडा नं.१ को आयोजनामा सोमबारदेखि सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख चक्रपाणी अर्यालले बाणगंगामा पछिल्ला बर्षहरुमा क्रमिक रुपमा खेलकुदका गतिविधिहरु बढ्दै गएको बताए । जसको फलस्वरुप बाणगंगा नगरपालिका क्षेत्रमा प्रतिभावान खेलाडीहरुको जन्म हुदैं आएको भन्दै खुशी व्यक्त गरे ।

उनले वडा नं.१ लाई खेलकुदलाई विशेष प्राथमिकता दिएर यति ठूलो धनराशीको प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद समेत दिए ।

वडाध्यक्ष सन्जुर कुमार सारुले वडा नं.१ मा खेलकुदमै राम्रो भविष्य बोकेका खेलाडीहरु रहेको बताए ।

खेलप्रतिको भावनालाई थप प्रोत्साहन र खेल सिपमा निखारता ल्याउन वडाले प्रतियोगिता आयोजना गरेको वडाध्यक्ष सारुले स्पष्ट पारे ।

यसैबीच प्रतियोगिताको उद्घाटन खेलमा वडा नं.६ ले विजयी सुरुवात गरेको छ । वडा नं. ८ लाई २-१ गोलले पराजित गर्दै वडा नं.६ ले विजयी सुरुवात गरेको हो । वडा नं.६ को जितमा सुन्दर पल्ली मगर र विवस केसीले एक/एक गोल गरेका हुन् भने वडा नं.८ को तर्फबाट मनिष गिरीले एक गोल फर्काएका हुन् ।

वडा नं.६ को जितमा एक गोल गरेका सुन्दर नै ‘म्यान अफ दि म्याच’ घोषित भए ।

वडाध्यक्ष सारुले मंगलबार दिउँसो १२ बजे पहिलो खेल वडा नं.७ र ११ बीच र दिउँसो ३ बजे वडा नं.४ र ९ बीच हुने जानकारी दिए । उनले खेल अवलोकनका लागि सम्पूर्ण खेलप्रेमीहरुलाई सार्वजनिक रुपमा अपिल समेत गरेका छन् ।

प्रतियोगिताको उपाधि जित्ने वडाले नगद रु. १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद रु ५० हजार, शिल्ड, मेडल र प्रमाण प्राप्त गर्ने छ ।

सोमबार आजदेखि सुरु भएको यस प्रतियोगिता आगामी फागुन १० गतेसम्म चल्ने छ ।

सम्बन्धित् समाचार