गृहपृष्ठ Featured पाल्पाका एक कृषकले उत्पादन गरे ५९० ग्रामको आलु

पाल्पाका एक कृषकले उत्पादन गरे ५९० ग्रामको आलु

प्रकाशित मिति:

पाल्पा ।

तानसेन–१४ अर्गलीका कृषक विष्णु कुवरले यस वर्ष ५९० ग्राम तौल भएको आलु उत्पादन गर्न सफल भएका छन्।

उनले अघिल्लो वर्ष ८९० ग्रामको आलु उत्पादन गरेका थिए। कुवरले उत्पादन गरेको यो आलु कार्डिनल जातको हो, जसलाई विशेषगरी नेपालमा राम्रो उत्पादन दिने जातको रूपमा चिनिन्छ।

 

विष्णु कुवर विगत १०–१२ वर्षदेखि आलुखेतीमा संलग्न छन्। वार्षिक रूपमा ४० देखि ५० क्विन्टलसम्म आलु उत्पादन गर्दै आएका कुवर कृषिमा सक्रिय एक सफल किसान हुन्। ६० दशक उमेरमा पनि उनले अत्यन्त लगनशीलताका साथ खेती गर्दै आएका छन्, जसले स्थानीय समुदायमा प्रेरणादायी सन्देश प्रवाह गरेको छ।

कृषकको मेहनत, तर राज्यको सहयोग न्यून

कुवरले लामो समयदेखि आफ्नै मेहनतका भरमा आलुखेती गर्दै आएका छन्। तर, राज्यबाट खासै सहयोग नपाएको उनले गुनासो गरेका छन्। “कृषिमा राम्रो सम्भावना छ, मेहनत गरे जीवन चलाउन सकिन्छ,” कुवर भन्छन्, “तर सरकारले किसानलाई सहयोग गरे झन् राम्रो हुने थियो।”
उनको उत्पादन स्थानीय बजारमा राम्रो माग रहेको छ। जैविक खेतीमा विशेष ध्यान दिने भएकाले उनको उत्पादन गुणस्तरीय हुने किसानहरू बताउँछन्। उनीजस्ता मेहनती किसानहरूको प्रोत्साहनका लागि राज्य र सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ।

कृषिमा सम्भावना र प्रेरणा बिष्णु कुवरको मेहनतले समाजमा ‘कृषि गरे केही सम्भव छ’ भन्ने सन्देश प्रवाह गरेको छ। अहिलेको पुस्ता कृषिप्रति आकर्षित नहुँदा कृषिमा संलग्न व्यक्तिहरू घट्दै गइरहेका छन्। तर, कुवरजस्ता किसानहरूले परिश्रम र समर्पणका माध्यमबाट कृषि पेशालाई जोगाइरहेका छन्।

यस्ता उदाहरणीय कृषकहरूको मेहनतलाई सम्बोधन गर्दै राज्यले उचित नीतिहरू ल्याउन सक्यो भने देशकै कृषि उत्पादनमा सुधार आउने निश्चित छ।

सम्बन्धित् समाचार