वैखरी अनलाईन, बाणगंगा ।
सामाजिक सञ्जाल विधेयक मानव अधिकार मैत्री बनाउन मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु शाखाले माग गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै उक्त माग गरिएको हो ।

सामाजिक सञ्जाल विधेयकमा भएका संविधान प्रदत्त मौलिक हक, प्रेस र अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधान खारेज गर्न र सरोकारवालाहरुसँग व्यापक परामर्श गरि विधेयकलाई मानव अधिकार एवं प्रयोगकर्ता मैत्री बनाउन आग्रह गरिएको मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुका सभापति शिवकुमार कार्कीले जानकारी दिए ।
सरकारले माघ १३ गते सामाजिक सञ्जाल सञ्चालन प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक राष्ट्रिय सभामा पेश गरेको थियो । उक्त विधेयकमा भएका केही प्रावधानले संविधान प्रदत मौलिक हक, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरीत दुरुपयोग हुन सक्ने भन्दै मानब अधिकार तथा शन्ति समाजको गम्भिर ध्यानकर्षण भएका समाजले जनाएको छ ।
‘अभिव्यक्ति स्वतन्त्रता, आधारभूत मानब अधिकार हो भने घृणात्मक अभिव्यक्ति अपराध हो, मानब अधिकार तथा शान्ति समाज सदैब अभिव्यक्ति स्वतन्त्रताको पक्षमा र घृणात्मक अभिव्यक्तिको विपक्षमा उभिएको छ,’ ज्ञापन पत्रमा उल्लेख छ ।
यस्तै उक्त पत्रमा विधेयकको उदेश्य र कारणमा सामाजिक सञ्जालको प्रयोलगलाई व्यवस्थित मर्यादित र सुरक्षित बनाउन स्पष्ट कानून निर्माण गर्नुपर्ने आवश्यकता उल्लेख गरिएको छ जुन स्वभाविक छ तर, विधेयकमा कतिपय प्रावधान द्धिअर्थी र क्लिष्ट हुनुका साथै विवादस्पद रहेको उल्लेख गरिएको छ ।
सो विषयलाई मध्यनजर गर्दै समाजले उक्त बिधेयकलाई मर्यादित बनाई आम नागरिको पहुँचमा पु¥याउन र सहज तुल्याउन तरिकाले बनाउन समाजले माग गरेको सभापति कार्कीले बताए ।








