सागर वि.क., वैखरी अनलाईन ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड स्तरोन्नतिको काम समयमै सम्पन्नका लागि दबाब दिन नागरिक निगरानी समूह गठन गरिएको छ । मंगलबार बाणगंगा नगरपालिकामा बसेको सरोकारवालाहरुको बैठकले छविलाल पाठकको संयोजकत्वमा नागरिक निगरानी समूह गठन गरेको हो ।

जसको सहसंयोजकमा महेन्द्र श्रेष्ठ, सचिवमा टेकराज पौडेल, प्रचारप्रसार संयोजकमा ऋषि आजाद, सदस्यहरुमा रुद्र अर्याल, गंगा पोख्रेल, मुक्तिनाथ ज्ञवाली, कमलराज घिमिरे, टिकाराम उप्रेती, प्रताप गिरी, डोलकराम घिमिरे, नारायण प्रसाद भुसाल, देवीलाल कँडेल, उत्तममणी पौडेल लगायत रहेका छन् ।
संयोजक छविलाल पाठकले यस समूहले सडक स्तरोन्नतिका कामको प्रभावकारितासंगै स्थानीय नागरिकहरुका सरोकारका विषयहरु उठान गर्ने बताए । उनले बुटवल–नारायणघाट सडकखण्डमा जस्तो ढिलासुस्ती र बेतिथि हुन नदिन नागरिक निगरानी समूह गठन भएको प्रष्ट पारे ।
उनले बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड स्तरोन्नतिको कामलाई आफुहरुले नजिकबाट निगरानी गरिरहने बताउँदै ठेकेदार पक्षलाई लापरबाही गर्न नदिन र समयमै सचेत गराउन निरन्तर खबरदारी गर्ने बताए ।
बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले नागरिक निगरानी समूहको गठनले स आयोजनाको काम समयमै सक्न सकारात्मक दबाब सिर्जना गर्ने विश्वास व्यक्त गरे । उनले यस समूहको सक्रियता निरन्तर रुपमा हुनुपर्ने बताए ।
वि.स.२०२० सालमा तत्कालीन राजा महेन्द्रको पालामा निर्माण गरिएको यो सडक ६० वर्षपछि स्तरोन्नति हुन लागेको हो ।
बुटवलदेखि गोरुसिंगेसम्म ५० किलोमिटर र गोरुसिंगेदेखि चन्द्रौटासम्म १९ किलोमिटर गरी ६९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी स्तरोन्नति गरिदैं छ ।
पहिलो खण्ड अन्तर्गत निर्माण गरिने बुटवलदेखि गोरुसिंगे सम्मको ५० किलोमिटर सडकलाई पनि २५÷२५ किलोमिटरमा विभाजन गरी दुई प्याकेजमा निर्माण गर्ने तयारीसहित काम धमाधम भईरहेको छ । सडक स्तरोन्नतिको काम तीन वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको छ ।








