कपिलवस्तु ।
शिवरात्रीमा भगवान शिवको पूजाआजा गर्न तौलिहवास्थित तौलेश्वरनाथ महादेव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान ३ बजेदेखि दर्शनार्थीको भीड लागेको छ ।
नजिकको वाणगंगा नदीको रामघाटमा स्नान गरी पूजाआजा गर्न श्रद्धालु भक्तजन तौलेश्वरनाथ महादेवको मन्दिरमा लामो लाइन लागेका छन् । मन्दिर परिसरमा मुण्डन गर्ने, कथा सुन्ने र धार्मिक गतिविधि गर्नेको पनि उत्तिकै भीड छ ।
त्यस्तै अर्को महत्त्वपूर्ण धार्मिकस्थल शिवराज नगरपालिकाको शिवगढी पहाडमा रहेको शिव मन्दिरमा पनि भक्तजनहरुको ठूलो घुइँचो लागेको छ । ३ घण्टा पहाड चढेपछि पुगिने मन्दिरमा पनि बिहानै ३ बजे देखि दर्शनार्थीहरु लाइनमा बसेर पूजाआजा गरिरहेका छन् ।
पहाड चढ्ने समय लाग्ने हुँदा कतिपय श्रद्धालु भक्तजन मंगलबार साँझै पुगेका थिए । त्यस्तै हथौसाको शिव मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ । यी तिनै ठाउँका मन्दिर वरिपरि मेला पनि लागेको छ । मेला भर्नेको घुइँचो पनि उत्तिकै छ ।








