रुपन्देही ।
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित रुपन्देही, नवलपरासी र कपिलवस्तुका पुरातात्त्विक बुद्ध स्थलहरूको पर्यटन प्रवर्द्धनका लागि आयोजित ‘बुद्ध ज्ञान साइकल यात्रा’ को शुभारम्भ भएको छ। यो यात्रा शनिवार लुम्बिनीमा पुगेर समापन हुनेछ।
उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ लगायतले भैरहवाको बुद्धचोक स्थित लुम्बिनी गेटबाट नेपाल र भारतको झण्डा फहराएर यात्राको शुभारम्भ गराएका थिए।
दुई दिने यात्रामा सबैभन्दा कम उमेरका ८ वर्षीय किस्टोफर श्रेष्ठ र ११ वर्षीया आस्वानी खरेल सहभागी छन् भने जेठ नागरिकमा भारतको उत्तराखण्डबाट ७६ वर्षीय कमल जित दिमन र ७१ वर्षीय विष्णु दिमनले सहभागिता जनाएका छन्। यात्रामा विश्व साइकल यात्री पुष्कर शाह सहित नेपाल, भारत र जर्मनीबाट एक सय तीस जना साइकल यात्री सहभागी छन्।








