गृहपृष्ठ Featured प्रहरीलाई प्रविधिमैत्री बनाए मात्र अपराध नियन्त्रण : मुख्यमन्त्री आचार्य

प्रहरीलाई प्रविधिमैत्री बनाए मात्र अपराध नियन्त्रण : मुख्यमन्त्री आचार्य

प्रकाशित मिति:

बुटवल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रविधिमैत्री बन्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

प्रहरी प्रशासनको पहिलो प्राथमिकताका रूपमा अनुसन्धानलाई सशक्त बनाउँदै जनविश्वास आर्जन गर्ने तथा परिणाममुखी योजना तर्जुमा गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

आइतबार बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा भएको प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा मुख्यमन्त्री आचार्यले नेपाल प्रहरी अपराध अनुसन्धानका क्षेत्रमा अब्बल भए पनि केही घटनामा परिणाम आउन नसकेको बताउनुभयो । यद्यपि अधिकांश अपराध अनुसन्धानमा नेपाल प्रहरीले प्रभावकारी नतिजा ल्याएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले अनुसन्धान प्रक्रियालाई अझ परिष्कृत गर्दै नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो । “प्रहरीले गर्ने अध्ययन, अनुसन्धानको काममा प्रविधिलाई जोड्न जरुरी छ । अहिले धेरै अपराध साइबर माध्यमबाट हुन थालेका छन्, तसर्थ अनुसन्धान प्रविधिमैत्री हुनु पर्छ,” उहाँले भन्नुभयो, “प्रहरीले अध्ययन, अनुसन्धानका लागि प्रविधिको प्रयोग बढाउन जरुरी छ ।”

लुम्बिनी प्रदेशका छ जिल्ला भारतसँग सिमाना जोडिएको र खुला सीमा भएकाले अपराध अनुसन्धानमा थप चुनौती रहेको उहाँले बताउनुभयो । सीमाबाट अपराधीहरू सजिलै आवतजावत गर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै सीमा सुरक्षा र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउनुपर्ने उहाँको जोड थियो ।

सम्बन्धित् समाचार