सागर वि.क., वैखरी अनलाईन ।
बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले युवाहरुको चौतर्फी विकासका लागि पालिकाले हरसम्भव प्रयासहरु गरिरहेको बताएका छन् । उनले पालिकाले युवाहरुलाई स्वरोजगार बनाउन बर्षेनी विभिन्न सिपमूलक तालिमहरु संचालन गर्दै आईरहेको बताए ।
बाणगंगा नगर युवा परिषदको आयोजनामा सिद्धार्थ क्याम्पसमा भएको स्थानीय तहको समग्र विकासका लागि युवाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख अर्यालले यस्तो बताएका हुन् ।
उनले ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ उक्तिलाई आत्मसात गर्न सबैलाई आग्रह गरे । ‘तपाईंहरूमाथि अभिभावक, शिक्षकसंगै सिगो समाजले मैं आशा र सपना देखेको छ । असल समाज निर्माणको युवा संवाहक हो,’ उनले भने ।
उनले युवाहरुको बढ्दो विदेश प्लायन सबैको लागि गम्भिर चिन्ताको विषय भएको बताए । ‘हरेक दिन हजारौंको संख्यामा युवा विदेशीएका छन् । उनीहरुलाई रोक्ने निति संघीय सरकारबाटै ठोस रुपमा आउन आवश्यक छ । यसै विषयमा हामीले पटकपटक आवाज उठाईरहेका छौं,’ उनले भने ।

सिमित स्रोत र साधनको परिचालन गरेर युवाहरुलाई स्वदेशमै टिकाउन स्थानीय तहबाट सम्भव नभएको उनले बताए । उनले युवा उद्यमीलाई पालिकाले प्रोत्साहन गर्दै आएको बताए । लागुपदार्थको दुव्र्यशनीलाई नियन्त्रण गर्दै नगरले विभिन्न सरोकारवालाहरुसंग गर्दै उल्लेख काम गरेको उनले बताए ।
राज्यले अर्बौ रुपैयाँ शिक्षा क्षेत्रमा खर्चिएको भएता पनि उच्च शिक्षाका लागि विधार्थीहरु विदेश प्लायन क्रम नरोकिएको उनले बताए । जसको फलस्वरुप देशमा दक्ष जनशक्तिको अभाव भईरहेको उनले बताए । उपप्रमुख रिता कुमारी चौधरीले युवाहरु समाज र राज्यप्रतिको कर्तव्य बुझेर असल नागरिक बन्न आवश्यक रहेको बताईन् ।
उनले चन्द्र र सूर्य अंकित झन्डाप्रति सदैव अनुशासित भई शिरोपर गर्न सक्ने युवाको खाँचो रहेको बताईन् । पालिकाले हरेक बर्ष सिपमूलक तालिमहरु गरेर युवाहरुमा सिप विकास गरिहेको उनले बताईन् । यद्यपी पालिकाको अपेक्षाअनुसार तालिमपश्चात युवाहरु स्वरोजगार बन्न नसकेको उनले बताईन् ।

प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले युवाहरुले स्वदेशमै अवसरको खोजी गर्नुपर्ने बताए । विदेशमा गर्ने मेहेनत स्वदेशमै गरे भविष्य सुनिश्चित हुने उनको भनाई छ ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसी, सिद्धार्थ क्याम्पस प्रमुख वेदराम भुसाल, जिल्ला युवा परिषदका अध्यक्ष टुकलाल गैरे, स्ववियु सभापति निलकमल थारु, बाणगंगा नगर युवा परिषदका उपाध्यक्ष मधुसुदन भुसाल लगायतका वक्ताहरुले अब युवाहरुलाई प्राविधिक शिक्षा दिनुपर्नेमा जोड दिएका थिए ।
विधार्थीहरुको उल्लेख सहभागिता रहेको उक्त कार्यक्रमको सहजीकरण अर्चना आचार्यले गरेकी थिईन् ।







