गृहपृष्ठ खबर तिलौराकोट गोल्डकप : आज फाईनलमा मच्छिन्द्र र थ्रीस्टार भिड्दै

तिलौराकोट गोल्डकप : आज फाईनलमा मच्छिन्द्र र थ्रीस्टार भिड्दै

वैखरी अनलाईन, बाणगंगा ।

दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा आज मच्छिन्द्र एफसी र थ्रीस्टार एफसी भिड्दै छन् ।

जिल्ला फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले आज दिउँसो साढे २ बजे उपाधि हात पार्ने लक्ष्यका साथ बाणगंगा नगरपालिकाको बुद्धरंशालामा मच्छिन्द्र र थ्रीस्टार फाईनल खेलमा भिड्न लागेको बताए ।

उनले फाईनल खेल निकै प्रतिस्पर्धात्मक हुने विश्वास व्यक्त गर्दै सबैलाई खेल अवलोकनका लागि अपिल समेत गरेका छन् ।

सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा जोङ्ग्री एफसी सिक्किमविरुद्ध १−० गोलको रोमाञ्चक जित निकाल्दै मच्छिन्द्रले फाइनलमा थ्रीस्टारसंगको भेट पक्का गरेको थियो भने आईतबार भएको पहिलो सेमिफाईनल खेलमा संकटा एफसीविरुद्ध १−० को जित निकाल्दै थ्रीस्टार फाइनलमा पुगेको थियो ।

जिल्ला फुटबल संघ कपिलवस्तुको आयोजनामा भएको यस प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १११ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुसिल सिंह ठकुरीले जानकारी दिए ।

प्रतियोगिता बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा फागुन १४ गतेदेखि सुरु भएको थियो ।

सम्बन्धित् समाचार