वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाबाट स्रोत नखुलेको झण्डै २९ लाख रुपैयाँसहित ४ जना पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले विहिबार बाणगंगा नगरपालिका- ४ स्थित चारनम्बर जितपुरबाट ४ जनालाई पक्राउ गरेको हो ।
चार नम्बर जितपुरमा रहेको केसि फेन्सीको अन्डर-ग्राउण्डमा रहेको कोठामा बसेको अवस्थामा शंका लागेपछि स्रोत नखुलेको कुल नेपाली रुपैयाँ २८ लाख ९० हजारसहित प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका- ५ बस्ने वर्ष ३० को गोविन्द बिकको साथबाट भारतीय रुपैया ९ लाख (नेपाली रुपैया १४ लाख ४० हजार) र कपिलवस्तुको मायादेवी गाउँपालिका- ८ बस्ने वर्ष ३८ को सोमनाथ कसौधनको साथबाट कुल नेपाली रुपैया १४ लाख ५० हजार बरामत गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा अर्घाखाची सन्धीखर्क- ५ का ३० बर्षीय गोविन्द बिक, कपिलवस्तु मायादेवि गाउपालिका ८ बस्ने बर्ष ३८ को सोजनाथ कसौधन, बुटवल १६ का ४१ बर्षीय बस्नत खरेल र कपिलवस्तु नगरपालिका- ११ का ४२ बर्षीय शेषनारायण गिरिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मोहन मणी अधिकारीले वैखरी मिडियालाई जानकारी दिए ।








