अमेरिकी र युक्रेनी उच्च अधिकारीहरूबीच अर्को साता भेटवार्ता हुने निश्चित भएको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अर्को साता अमेरिकी र युक्रेनी उच्च अधिकारीहरूबीच भेटवार्ता हुने निश्चित भएको बताएका छन्।
अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सका अनुसार जेलेन्स्कीले बिहीबार वक्तव्य जारी गर्दै चाँडै नै दुई देशका उच्च अधिकारीबीच भेटवार्ता हुने बताएका हुन्।
‘युक्रेनी र अमेरिकन टोलीले फेरि काम सुरू गरेका छन्। अर्को साता सार्थक वार्ता हुनेछ भन्नेमा आशावादी छौं,’ जेलेन्स्कीले भनेका छन्।
उनले वार्ता मंगलबार नै हुने बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकफले बिहीबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा युक्रेनसँग वार्ताको पहल भइरहेको बताएका थिए।
‘वार्ताको तयारी गर्दैछौं। त्यो रियाद वा जेद्दामा हुनसक्छ,’ उनले भने, ‘वार्ताले शान्ति सम्झौता र प्रारम्भिक युद्धविरामको खाका तयार गर्नेछ।’
विटकफले ह्वाइट हाउसको चर्काचर्कीपछि जेलेन्स्कीको पहिलो पत्रले नै वार्तालाई पुनः सुरु गर्न भूमिका खेलेको बताए।