गृहपृष्ठ Featured जिफन्ट कपिलवस्तुले मनायो ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

जिफन्ट कपिलवस्तुले मनायो ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कपिलवस्तुले ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ मनाएको छ । उक्त दिवस जिफन्ट कपिलवस्तुले शनिबार जिल्लाको बाणगंगा नगरपालिका- ८ पुलचोकमा एक कार्यक्रम गरि भव्य रुपमा मनाएको जिफन्टका जिल्ला अध्यक्ष शारदा परियारले जानकारी दिईन् ।

उनले श्रमिक महिलाहरुको हक अधिकार सुनिश्चित गर्न जिफन्टले विगतदेखि नै अग्रहणी भूमिका निर्वाह गर्दै आएको स्मरण गरिन् । श्रमिक महिलाहरुको दुःख, सुखमा सदैव जिफन्ट रहने प्रतिवद्धता जनाउँदै उनले अब महिलाहरु व्यवसायिक रुपमा कृषि तथा उद्यम गरेर आत्मनिर्भर बन्नेतर्फ लाग्न आवश्यक रहेको बताईन् ।

कार्यक्रमकी प्रमुख अतिथि जिफन्टकी केन्द्रिय सदस्य रन्जु भट्टराईले लैङ्गिक समानतायुक्त समाज निर्माण सबैको साँझा लक्ष्य हुनुपर्ने बताईन् । त्यसका लागि लैङ्गिक समानता नीति निर्माण तथा कार्यान्वयनमा सबै सरोकारवाला पक्ष गम्भिर हुनुपर्ने उनको भनाई छ । उनले शिक्षा, स्वास्थ्य, रोजगारी, निर्णय प्रक्रिया, राजनीति जस्ता राज्यका हरेक क्षेत्रमा महिलाको समान पहुँच सुनिश्चित गर्नुपर्ने बताईन् ।

नेकपा एमाले कपिलवस्तुका जिल्ला उपाध्यक्ष शंकर पाण्डेले श्रमिक महिलाहरुको पक्षमा सबै भन्दा पहिले एमालेले आवाज उठाउँदै आएको दाबी गरे । महिला, बालबालिका तथा लैङ्गिक अल्पसंख्यकहरूको विकास, संरक्षण र सशक्तीकरणको मुद्धालाई एमालेले प्राथमिकताका साथ उठाउँदै आएको उनले बताए । उनले मजदुर तथा श्रमिकहरुको माग र मुद्धा प्राथमिकताका साथ बुलन्द गर्ने एक मात्र पार्टी एमाले भएको जिकिर गरे ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत रहेका बाणगंगा नगरपालिका ८ का वडाध्यक्ष बाबुराम अर्यालले समाजका हरेक तहसम्म लैङ्गिक समानतासँग जोडिएका अभियान तथा कार्यक्रमहरू पु¥याउनुपर्नेमा जोड दिए । उनले लैङ्गिक समानतायुक्त समाज निर्माणका लागि क्रियाशील सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्था एवम् अधिकारकर्मीहरूले थप ऊर्जा र उत्साहका साथ कार्य गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले महिलामाथि हुने सबै खालका विभेदको अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । महिलाको सम्बन्धमा संवैधानिक अधिकारको प्रभावकारी कार्यान्वयन गर्दै आर्थिक रूपमा समेत अधिकार प्राप्तिका लागि अघि बढ्न आवश्यक रहेको उनीहरुको भनाई थियो ।

जिफन्टका जिल्ला सचिव मोहन बहादुर केसीको संचालनमा सम्पन्न उक्त कार्यक्रममा महिला अधिकारकर्मीसहित श्रमिक महिलाहरुको उल्लेख सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार