गृहपृष्ठ Featured ‘बर्ड फ्लुको त्रास बढ्यो, सचेत हुन आग्रह

‘बर्ड फ्लुको त्रास बढ्यो, सचेत हुन आग्रह

काठमाडौँ ।

भारतको दक्षिण क्षेत्रस्थित पर्ने महाराष्ट्रमा बर्ड फ्लुको संक्रमण देखिएपछि नेपालमा पनि यसको त्रास फैलिने त्रास बढेको छ । खुला सिमानाका कारण नेपालमा पनि जोखिम हुन सक्ने भएकाले यसबाट जोगिन उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ ।

पछिल्लो समय सुनसरीको कोशी गाउँपालिका–६, कुम्याहीमा पालिएका हाँस र लोकल कुखुरामा फागुन ५ गते बर्ड फ्लु देखिएको थियो । तर त्यो नियन्त्रणमा भने आइसकेको छ ।

नेपालमा कुखुरा व्यवसायमा अर्बौैँ लगानी छ । भारतबाट अवैध रूपमा भित्रिने सेतो अण्डा, दाना, चल्लालगायत पशुपन्छीजन्य पदार्थसँगै रोग पनि भित्रिने अधिक सम्भावना छ ।

यसरी भित्रिने वस्तुबाट एकातर्फ नेपाली वस्तुले मूल्य नपाउन अवस्था रहन्छ भने अर्कोतर्फ रोग भित्रिने डर पनि उत्तिकै छ । बर्ड फ्लु भाइरस अण्डा, कुखुराको सुली, मान्छेको आवातजावात, दानालगायत मध्यमबाट सजिलै सर्ने गर्छ ।

यसले गर्दा सीमा क्षेत्रमा कडाइ गर्नुपर्ने व्यवसायीहरूले बताएका छन् । नेपाल पोल्ट्री व्यवसायी महासंघका महासचिव दिनेशराज मिश्रका अनुसार नेपालमा व्यावसायिक रूपमा सेतो अण्डा उत्पादन हुँदैन । तर घरायसी प्रयोगको रूपमा भने केहीले उत्पादन गर्ने गरेका छन् । ‘अवैध रूपमा चोरी पैठारी गर्दा बेला बेला समस्या आउँछन्,’ उनले भने, ‘कुखुरा, सेतो अण्डा, चल्ला आइरहेको छ । सेतो अण्डा नेपालको अण्डा होइन ।’ यसरी अवैध रूपमा आउने कुखुरा, अण्डा र चल्लाका कारण बर्ड फ्लु फैलिने डर हुने उनले बताए ।

स्थानीय र संघीय सरकारसँग पोल्ट्रीसम्बन्धित व्यवसायीले समन्वय गरेकाले तत्काल यो रोगबाट त्यति धेरै क्षति नभएको उनले बताए । ‘नेपाली उत्पादनको मासु र अण्डा स्वस्थ छन्,’ मिश्रले भने, ‘सीमा नाकामा उच्च सतर्कता अपनाउनुपर्छ । चिन्ता लिनुपर्ने छैन । हाम्रो उत्पादन कम भए पनि नपुग्ने छैन ।’ नेपालमा वेला वेला बर्ड फ्लुको हल्लाका कारण मासुजन्य व्यवसायमा असर पारेको पनि उनले बताए ।

देशभर दैनिक ८ लाख किलो ब्रोइलर कुखुराको मासु उत्पादन हुने गरेको र त्यसमध्ये काठमाडौँ उपत्यकामा मात्रै ५ लाख किलो खपत हुने गरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंग बहादुर बेल्बासे बताउँछन् । ‘तराई भेगमा बर्ड फ्लु देखिएको थियो,’ उनले भने, ‘अरू क्षेत्रमा देखिएको छैन, तर हामी सचेत हुनुपर्ने अवस्था छ ।’

पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. नवराज श्रेष्ठका अनुसार पछिल्लो समय यो रोग झापाको मेचीनगर नगपालिकामा देखिएको थियो । त्यसयता यसको प्रकोप प्रायः देखिएको छैन ।

सम्बन्धित् समाचार