गृहपृष्ठ Featured आजदेखि पीएम कप : लुम्बिनीमा उत्साह

आजदेखि पीएम कप : लुम्बिनीमा उत्साह

प्रकाशित मिति:

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आज (आइतबार) देखि प्रधानमन्त्री कप (पीएम कप) एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन शहरमा हुने पीएम कपमा सात प्रदेश र तीन विभागीयसहित १० टिम सहभागी हुँदै छन् ।

पीएम कपका खेलहरू सिद्धार्थ रंगशाला भैरहवा, देउखुरी क्रिकेट स्टेडियम दाङ र एक्स्ट्राटेक ओभल तिलोत्तमामा हुनेछन् । पहिलो दिन सिद्धार्थ रंगशालामा कोशी प्रदेश र लुम्बिनी प्रदेश खेल्दै छन् भने एक्स्ट्राटेक ओभलमा बागमती प्रदेश र एपीएफ क्लब खेल्दै छन् ।

त्यस्तै देउखुरी क्रिकेट स्टेडियममा कर्णाली प्रदेश र सुदूरपश्चिम टिमबीच खेल हुनेछ । पीएम कपको उपाधि अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । अहिलेसम्म नेपाल पुलिस क्लबले तीन पटक जितेको छ भने एपीएफ र त्रिभुवन आर्मीले २–२ पटक यो उपाधि जितेका छन् ।

प्रतियोगिताका ४६ वटा खेलमध्ये भैरहवाको सिद्धार्थ रंगशालामा सबैभन्दा धेरै १७, तिलोत्तमाको एक्ट्राटेक ओभलमा १५ र दाङको लमहीमा १४ वटा खेल हुनेछन् ।  प्रतियोगिताका सबै खेल लुम्बिनी प्रदेशका तीन रंगशालामा हुने भएपछि यहाँका क्रिकेटप्रेमी र व्यवसायीसमेत उत्साही देखिएका छन्‌ ।

गत संस्करणको प्रधानमन्त्री कपका पनि केही खेल रुपन्देहीमा भएका थिए । तिलोत्तमाको एक्ट्राटेक ओभल करिब ४५ करोडको लगानीमा बन्दै गरेको नेपालकै अत्याधुनिक क्रिकेट मैदान हो । यो मैदानमा खेल रातिमा समेत खेल्न मिल्ने फ्‌लड लाइटसमेत जडान भइसकेको छ ।

पूर्वक्रिकेटर तथा प्रशिक्षक शक्ति गौचनले पहिलोपटक पीएम कपका सबै खेलका लागि लुम्बिनी प्रदेशलाई छान्नुमा तिलोत्तममा बनेको एक्स्ट्राटेक ओभलको पनि योगदान रहेको बताए । नेपाल क्रिकेट संघ लुम्बिनीका अध्यक्ष संजय गुरुङले पहिलो पटक पीएम कप क्रिकेटका सबै खेल लुम्बिनीमा खेलाइनुले क्रिकेटप्रेमी मात्र नभई होटेल तथा पर्यटन व्यवसायीमा समेत उत्साह थपिएको बताए ।

सम्बन्धित् समाचार