रुपन्देही।
बुद्धजन्मस्थल लुम्बिनीमा शनिवार बेलुका ७ हजार दीप प्रज्वलन गरिएको छ । चौथौँ त्रिपिटक पाठ समारोहको समापन लगत्तै बेलुका केन्द्रीय नहरको मध्य भागमा अवस्थित लुम्बिनी स्क्वायरमा ७ हजार दीप प्रज्वलन गरिएको हो ।
धम्मकाय फाउण्डेशनले भिक्षु भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका ५ सय जना अल्पकालीन भिक्षुहरूको सहभागितामा शान्ति र साहर्दताका लागि दीप प्रज्वलन गरिएको हो । नेपालको झन्डा केन्द्र भाग मानी धम्मचक्रको आकार आउने गरी गरिएको दीप प्रज्वलनको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष धम्मशोभन महास्थवीरले शुभारम्भ गरे ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरी विश्व शान्ति र प्राणी जगतको कल्याणको कामना गर्नु आफैमा महत्त्वपूर्ण भएको बताए । उनले बुद्धका उपदेशहरूलाई यस्तै आध्यात्मिक कार्यक्रमहरूबाट विश्वभर फैलाउनुपर्नेमा जोड दिए ।